काठमाडौं– पछिल्लो समय चामलजन्य वस्तुको आयातमा उतारचढाव देखिएको छ । भन्सार विभागको विगत पाँच वर्षको तथ्यांक सो कुरा देखाएको हो । आर्थिक वर्ष २०७८/७९ को साउनदेखि मंसिरसम्मको चामलजन्य वस्तुको आयात गर्दा २० अर्ब ४९ करोड मूल्य बराबरको ५ लाख ६ टन चामल आयात भएको छ । सोही अवधिमा आर्थिक वर्ष २०७९/०८० मा दोब्बरले नै घटेर १२ अर्ब ६५ करोड मूल्य बराबरको २ लाख ८२ टन चामलजन्य वस्तु आयात भएको हो ।
विभागको तथ्यांक अनुसार आव २०८०/८१ मा पनि चामलजन्य वस्तुको आयात साउनदेखि मंसिरसम्म फेरि घटेर ८ अर्ब २८ करोड मूल्य बराबरको १ लाख ८२ हजार टन मात्र आयात भयो । पुन: आव २०८०/८१ सम्म घटेको चामलजन्य वस्तु २०८१/०८२ देखि उकालो लागेको तथ्यांकले देखाएको छ । भारत सरकारले चामल निकासी खुकुलो बनाएपछि पछिल्लो पटक चामल आयात बढ्दै गएको पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले बताए ।
उनका अनुसार पछिल्लो समय स्वदेशी उत्पादन पनि बढेको छ । तर, भारतीय बजारबाट आयात गर्दा सस्तो पर्ने हुँदा व्यापारीको रोजाइमा स्वदेशीभन्दा आयातित चामल पर्ने भएकाले आयात बढ्दो क्रममा रहेको उनको भनाइ छ । उनका अनुसार पछिल्लो समय धान उत्पादन बढ्दै गए पनि आन्तरिक मागअनुसार करिब ७ लाख टन चामल अपुग छ । तर, आन्तरिक मागको अपुग परिमाणभन्दा चामल आयात धेरै भइरहेको छ । यो थप अध्ययनको विषय हो ।
आन्तरिक मागभन्दा बढी चामल आयात हुनुको कारणबारे ठोस अध्ययन नगरी भन्न नसकिने रेग्मी बताउँछन् । स्वदेशी उत्पादन बढ्दै गर्दा चामल आयात कम नहुने विषयलाई सम्बन्धित निकायले अध्ययन गर्न आवश्यक देखिएको रेग्मीको भनाइ छ । धानबाली लगाउने समयमा सुक्खा खडेरी, बेमौसमी वर्षा र डुबानका कारण धान उत्पादन गत वर्षभन्दा केही कम हुने कृषि मन्त्रालयको अनुमान छ । ‘माग पूरा गर्न सक्ने अवस्था नभए पनि पछिल्लो समय स्वदेशी धान उत्पादन बढिरहेको छ,’ उनले भने ।
गत वर्ष मुलुकभर १३ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकोमा ५९ लाख ५५ हजार ४७६ टन धान उत्पादन भएको थियो । चालु वर्षको पाँच महिनामा १५ अर्ब ४३ करोड रुपैयाँ मूल्य बराबरको ३ लाख १ हजार टन चामल आयात भएको छ । गत वर्षभन्दा यो २ अर्ब ६४ करोड मूल्य बराबरको ५८ टन बढी चामल आयात हो । गत वर्ष सोही अवधिमा १२ अर्ब ७९ करोड मूल्य बराबरको २ लाख ४३ टन चामलजन्य वस्तु आयात भएको थियो ।
विभागको तथ्यांकअनुसार अघिल्लो वर्षको चामल आयातको अवस्था हेर्दा यो आर्थिक वर्ष करिब दोब्बरले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को पाँच महिना (साउन–मंसिर)मा ८ अर्ब २८ करोड मूल्य बराबरको १ लाख ५२ टन मात्र चामल आयात भएको थियो । चालु आवको पाँच महिनाको चामल आयातसँग तलुना गर्दा ७ अर्ब १५ करोड मूल्य बढीको १ लाख ४९ टन चामल आयात भएको छ । यो वर्ष गत वर्षको तुलनामा २७ हेक्टर कम क्षेत्रफलमा धान रोपाइँ भएको छ ।
मन्त्रालयका अनुसार गत असोजमा आएको बेमौसमी वर्षाले कुल १० हजार ८ सय ४० हेक्टर धान खेती गरिएको क्षेत्रफल क्षति पुगेको थियो । सोही कारण करिब २७ हजार ७५९ टन धान उत्पादनमा कमी भई ८६ करोड ८२ लाख रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको छ । धानवालीतर्फ सबैभन्दा बढी क्षति नवलपुरमा करिब ४ हजार ४८५ हेक्टर क्षेत्रफलमा भएको छ । सबैभन्दा कम चितवनमा ०.०६७ हेक्टर क्षेत्रफलमा मात्र क्षति भएको थियो ।
त्यसैगरी उत्पादनका दृष्टिले सबैभन्दा बढी क्षति रौतहटमा ७ हजार ९५२.४० टन भएको र सबैभन्दा कम चितवनमा ०.२५ टन मात्र रहेको पाइएको छ । धानको स्थानीय बजार मूल्यअनुसार आर्थिक नोक्सानी सबैभन्दा बढी रौतहटमा २३ करोड ८५ लाख बराबरको आर्थिक नोक्सानी भएको छ । सबै भन्दा न्यून आर्थिक नोक्सानी तेह्रथुममा १ लाख १४ हजार मात्र भएको छ । रौतहटमा उत्पादन र आर्थिक दृष्टिले सर्वाधिक क्षति पुगेको छ । यस्तै चितवनमा क्षेत्रफल र उत्पादन दुवैमा न्यून प्रभावित भएको छ ।
प्रतिक्रिया