(Monday , 20 April,2026)

जलवायु तथा कृषि विज्ञ परियार बने कृषिमन्त्री

mountainejournal.com

mountainejournal.com

काठमाडौँ ।  सप्तरीको राजविराजमा जन्मिएका मदनप्रसाद परियार वरिष्ठ जलवायु तथा कृषि विज्ञ हुन्। हाल काठमाडौँको चन्द्रागिरी नगरपालिकाका बासिन्दा परियारले दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूमा रहेर काम गरिसकेका छन्।  

दलित समुदायको अधिकार र सामाजिक न्यायको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका परियार हाल समता फाउण्डेसनका अध्यक्ष हुन्। सन् २००९ मा स्थापना भएको फाउन्डेसनले दलित तथा अन्य अल्पसंख्यक समुदायको अधिकार र समावेशिताका लागि अध्ययन, अनुसन्धान, नीति निर्माण, मानवअधिकार र नेतृत्व विकासका क्षेत्रमा काम गर्दै आएको छ।

परियार ०६८ सालमा राज्य पुनर्संरचना सुझाव उच्चस्तरीय आयोगको संयोजक समेत भएका थिए। तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले परियारलाई आठ सदस्यीय सुझाव आयोगको संयोजक नियुक्त गरेको थियो।

विभिन्न क्षेत्र र समुदायका विज्ञहरू सम्मलित आयोगले राज्य पुनर्संरचनाका लागि सुझावसहितको प्रतिवेदन दिएको थियो। त्यस्तै, परियारले उदयपुर सिमेन्ट र कृषि औजार काराखाना वीरगन्जको महाप्रबन्धकका रूपमा पनि काम गरेका थिए।

भारतको इलाहाबाद कृषि संस्थानबाट कृषि इन्जिनियरिङमा स्नातक गरेका उनले थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट इन्जिनियरिङमा स्नात्तकोत्तर र विद्यावारिधि गरेका हुन्। उनले जलवायु अनुकूलन, गरिबी निवारण, आर्थिक वृद्धि, समावेशीकरण, सुशासन, सूचना प्रविधि, ग्रामीण तथा कृषि विकास, औद्योगिक विकास र स्रोत व्यवस्थापन जस्ता विषयहरूमा गहिरो अध्ययन अनुसन्धान गरेका छन्।

परियारले सरकारी र गैरसरकारी संस्थाहरू, निजी उद्योग र शिक्षा क्षेत्रमा समेत लामो समयसम्म योगदान दिएका छन्। उनले लामो समयसम्म ग्रामीण विकास, कृषि र गरिबी निवारणको क्षेत्रमा आईडीई नामक संस्थासँग आवद्ध भएर काम गरे । यही क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आईडीई नेपालमा काम गरेका उनी पछि संस्थाको वरिष्ठ सल्लाहकारसमेत भए।

त्यस्तै, उनले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघको फ्रेमवर्क कन्भेन्सनमा नेपाल प्रतिनिधिको रूपमा समेत योगदान गरे। कृषि, जलवायु, गरिबी निवारण र आर्थिक वृद्धि लगायत क्षेत्रमा नै उनले नेपालसहित ३० भन्दा देशहरूसम्म पुगेर अध्ययन अनुसन्धान र भ्रमण गरेका छन्।

 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal