(Monday , 15 June,2026)

साउनमा ८७ अर्ब उठ्यो राजस्व

mountainejournal.com

mountainejournal.com

काठमाडाैँ । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो महिना साउनमा ८७ अर्ब १५ करोड राजस्व उठेको छ । यो गत वर्षको साउनभन्दा कम हो ।महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार गत आव २०८१–८२ को साउनमा ९० अर्ब ९४ करोड रुपैयाँ राजस्व उठेको थियो । यो वर्ष झण्डै चार अर्ब कम राजस्व संकलन भएको हो ।

चालु आर्थिक वर्षका लागि अर्थमन्त्री पौडेलले १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याएका छन् । वार्षिक राजस्व संकलन लक्ष्य १४ अर्ब ८० करोड रुपैयाँ राखेका छन् । पहिलो महिनामा वार्षिक लक्ष्यको ५.८९ प्रतिशत राजस्व संकलन भएको छ । गत वर्ष सरकारले १८ खर्ब ६० अर्बको बजेट ल्याउँदा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

दुई दिनअघि कारोबारसँग कुरा गर्दै अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारी (अहिले भन्सार विभागको महानिर्देशकमा सरुवा) ले नेपालको राजस्व धेरै आयातमुखी भएको भन्दै साउनमा बाढीका कारण चीनतर्फका नाका तातोपानी र रसुवागढीमा अवरोध हुँदा राजस्व संकलन कम भएको हुन सक्ने बताए ।

बाढीका कारण अवरोध भएका चीनतर्फका भन्सार नाका सञ्चालन हुँदा आउने महिनामा राजस्व बढ्ने उनको भनाइ छ । भण्डारीका अनुसार पहिलो महिनाको राजस्व संकलनले यो आर्थिक वर्षभरीको राजस्व संकलन बढ्ने वा घट्ने ठम्याउन सकिँदैन । ‘आउने महिनामा सुधार आउन सक्छ । अहिले नै केही भन्न सकिँदैन । आवको पहिलो महिना राजस्व संकलन कम नै हुने गरेको छ,’ उनले भने ।

चालु आवमा राजस्व संकलनसँगै पुँजीगत खर्च पनि कमजोर देखिएको छ । गत वर्ष साउनमा पुँजीगत खर्च ८ अर्ब १ करोड रुपैयाँ भएको थियो । चालु आवमा जम्मा ८२ करोड रुपैयाँ खर्च भएको छ । यो गत वर्षभन्दा धेरै कम हो । गत वर्ष सरकारले पुँजीगत खर्चका लागि वार्षिक बजेट ३ खर्ब ५२ अर्ब रुपैयाँ छुट्याएको थियो । यसमध्ये आवको पहिलो महिना साउनमा वार्षिक लक्ष्यको २.२७ प्रतिशत खर्च गरेको थियो ।

यो आर्थिक वर्ष सरकारले पुँजीगत खर्चका लागि ४ खर्ब ७ अर्ब बजेट छुट्याएको छ । पहिलो महिनामा वार्षिक लक्ष्यको जम्मा ०.२ प्रतिशतमात्र खर्च गरेको छ । यस्तै, सरकारले साउनमा वित्तीय व्यवस्थापनतर्फ २७ अर्ब १० करोड खर्च गरेको छ । यसको बजेट भने ३ खर्ब ७५ अर्ब रुपैयाँ हो ।

चालु आवमा ११ खर्ब ८० अर्ब रुपैयाँ चालु खर्चमा विनियोजन गरेको सरकारले साउनमा १९ अर्ब ७८ करोड खर्च गरेको छ । यो लक्ष्यको १.६८ प्रतिशत हो ।
चालु आवमा वैदेशिक अनुदान प्राप्तिमा भने सुधार देखिएको छ । गत वर्ष साउन महिनामा शून्य रहेको अनुदान यो साउनमा ४ अर्ब २१ करोड प्राप्त भएको छ । सरकारले चालु आवमा ५३ अर्ब ४४ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य लिएको छ । गत वर्ष ५२ अर्ब ३२ करोड रुपैयाँ लक्ष्य राखेको थियो । गत वर्षको साउनमा शून्य प्राप्ति भएकोमा यो वर्ष वार्षिक लक्ष्यको ०.७९ प्रतिशत प्राप्त गरेको छ ।

साउन मसान्तसम्मको तथ्यांकअनुसार सरकारको कुल आम्दानी ८७ अर्ब ८९ करोड भएको छ भने कुल खर्च ४७ अर्ब ७० करोड रुपैयाँ भएको छ । साउनमा सरकार बजेटरी बचतमा छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal