(Thursday , 16 April,2026)

३ लाख ६५ हजार ५ सय हेक्टरमा रोपाइँ सकियाे

mountainejournal.com

mountainejournal.com

काठमाडौँ ।  मनसुन सक्रिय भएसँगै खोलानाला भरिएपछि देशभर रोपाइँ बढेको छ । पछिल्ला ९ दिनमा मुलुकभर थप ३ लाख ६३ हजार ५ सय ९७ हेक्टरमा रोपाइँ भएको छ । असार १३ सम्म २ लाख १७ हजार २ सय ८९ हेक्टरमा रोपाइँ भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ ।

त्यसपछिका ९ दिनमा ५ लाख ८० हजार ८ सय ८६ हेक्टरमा रोपाइँ भएको हो । यो कुल रोपाइँ हुने क्षेत्रफलको ४१.९ प्रतिशत हो । मुलुकमा १३ लाख ८७ हजार ४ सय १५ हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ । मनसुनकै कारण खोला–कुलो–कुलेसा भरिएपछि रोपाइँको क्षेत्रफल बढेको केन्द्र प्रमुख केशव देवकोटाले जनाए । ‘पहाडी क्षेत्रमा जेठ अन्तिमदेखि नै रोपाइँ सुरु भइसकेको थियो । अहिले मधेशतिर पनि बढेको छ,’ प्रमुख देवकोटाले भने, ‘सिँचाइ बिस्तारै बढेको छ, त्यही कारणले रोपाइँ पनि बढ्ने क्रममा छ ।’

२०८१ असार २३ सम्म भने ४३.५ प्रतिशत रोपाइँ भएको केन्द्रको तथ्यांक छ । २०८२ असार २२ सम्म भने सबैभन्दा धेरै सुदूरपश्चिममा ८२.८ प्रतिशत रोपाइँ भएको छ । यस प्रदेशमा १ लाख ७६ हजार १ सय ५१ हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये १ लाख ४५ हजार ९ सय ३२ हेक्टरमा रोपाइँ भइसकेको छ । दोस्रोमा कर्णालीमा ७१.७ प्रतिशत रोपाइँ भएको छ । यस प्रदेशमा ४० हजार ८ सय ८४ हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये २९ हजार २ सय ९९ हेक्टरमा रोपाइँ भइसकेको केन्द्रले जनाएको छ । सुदूर र कर्णालीमा जेठ दोस्रो सातादेखि नै रोपाइँ सुरु भएको थियो । त्यही कारण धेरै क्षेत्रफलमा रोपाइँ भइसकेको हो ।


गण्डकीमा ५५.६ प्रतिशत रोपाइँ भएको छ । यस प्रदेशमा ९४ हजार १ सय ८२ हेक्टरमा रोपाइँ हुन्छ । लुम्बिनीमा भने ५२.१ प्रतिशत रोपाइँ भएको केन्द्रको तथ्यांक छ । यहाँ ३ लाख २ हजार ९ सय ३९ हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये १ लाख ५७ हजार ८ सय ५७ हेक्टरमा रोपाइँ भइसकेको छ ।

बढी धान फल्ने मधेश, बागमती र कोशीमा भने रोपाइँ कम भएको छ । सबैभन्दा थोरै मधेश प्रदेशमा १३.६ प्रतिशत रोपाइँ भएको छ । यस प्रदेशमा ३ लाख ७६ हजार ३ सय २७ हेक्टरमा धान रोपाइँ हुन्छ । असार २२ सम्म जम्मा ५१ हजार २ सय ५० हेक्टरमा रोपाइँ भएको उल्लेख छ । बागमतीमा १ लाख २० हजार ५ सय ४५ हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये ६२ हजार ५ सय ६१ हेक्टर अर्थात् ५१.९ प्रतिशत रोपाइँ भएको केन्द्रको तथ्यांक छ ।


कोशीमा पनि २९.५ प्रतिशत रोपाइँ भएको छ । यस प्रदेशमा २ लाख ७६ हजार ३ सय ८७ हेक्टरमा धान रोपाइँ हुन्छ । धान रोपाइँ धमाधम चले पनि किसानले भने सहजै रासायनिक मल पाएका छैनन् । सरकारसँग करिब ७४ हजार टन मल मौज्दात रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । तर किसानको खेतबारीसम्म मल पुगेको छैन ।

‘जटिल प्रक्रियाले मल ल्याउन ढिलाइ’

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सार्वजनिक खरिद ऐनमा भएको असजिलो व्यवस्थाका कारण मल वितरण प्रक्रियामा ढिलाइ हुने गरेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिको बैठकमा मन्त्री अधिकारीले ऐनमा रहेको असजिलो र जटिल यवस्थाकै टेन्डर प्रक्रिया सुरु गरेदेखि मल आइपुग्न २ सय २७ दिन लाग्ने गरेको दाबी गरे ।

आयातित मल वितरण गर्नसमेत महिनौं लाग्ने हुँदा किसानलाई समयमै मल नपुग्ने समस्या सिर्जना भइरहेको उनले जनाए । ‘सार्वजनिक खरिद ऐनले निकै असजिलो बनाएको छ । टेन्डर सुरु गरेको २ सय २७ दिनमा मल आइपुग्ने रहेछ । अनि मल आइपुगेपछि वितरण गर्न जाँदा महिनौं लाग्ने रहेछ,’ उनले भने, ‘यस विषयमा अर्थ मन्त्रालयलाई पनि जानकारी गराएका छौं । मल वितरणलाई कसरी सजिलो बनाउने भन्नेबारे गहन छलफल होस् ।’

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal