काठमाडौँ । पशुपन्छी अनुसन्धान, विकास, नविन प्रविधि प्रवद्र्धन र लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थान (आईएलआरआई) बीच द्धिपक्षीय सम्झौता भएको छ । बुधबार मन्त्रालयमा पशुपन्छी सचिव डा.रेवतीरमण पौडेल र आईएलआरआईको तर्फबाट डा.सर्ले तारावालीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । विश्वव्यापी रुपमा पशुपन्छीको उत्पादन प्रवद्र्धन लगायत पशुपन्छीको क्षेत्रमा वैज्ञानिक अनुसन्धान सञ्चालन गरिने सम्झौतापत्रमा उल्लेख छ ।
आईएलआरआई एक विश्वव्यापी रुपमा पशुपन्छीको उत्पादन प्रवद्र्धन लगायत पशुपन्छीको क्षेत्रमा वैज्ञानिक अनुसन्धान सञ्चालन गर्ने एक अनुसन्धान मूलक अन्तराष्ट्रिय कृषि अनुसन्धान परामर्शदाता समूह (सीजीआईएआर) अन्तर्गतका पन्ध्रवटा कृषि अनुसन्धानका केन्द्रहरुमध्ये एकको रुपमा स्थापित केन्यामा मुख्यालय रहेको एक गैरलाभकारी अन्तराष्ट्रिय सार्वजनिक संस्था हो । आईएलआरआईले सन् २०१३ देखि अफ्रिका र एशियाका कम र मध्यम आय भएका देशका सरकारसँगको सहकार्यमा ती देशहरुमा विभिन्न स्तरका पशुपन्छी क्षेत्रका गुरु योजना र लगानी योजना विकास गर्न प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।
आईएलआरआईले नेपालमा पहिले नै परियोजनाहरू सुरु गरिसकेको छ । जसमा सीजीआईएआर स्याम्पिलिगं कार्यक्रम, भैंसीको दुग्ध मूल्य श्रृंखला, पशुधन लगानी योजना, क्षमता विकास र लम्पी स्किन रोग नियन्त्रण सम्बन्धी कार्यशाला, पानीको सदुपयोग, मिथेन ग्यास उत्सर्जन, एकीकृत पोषण प्याकेज स्केलिङ सम्बन्धी अन्य परियोजनाहरू समावेश छन् । कृषि सचिव डा. रेवतीरमण पौडेलकाअनुसार पशु पहिचान प्रणाली पाइपलाइनमा रहेको छ । सम्झौतापछि नेपालमा पशुपालन मार्फत् गुणस्तरिय जीविकोपार्जनमा योगदान पु¥याउँदै अनुसन्धान, विकासमा सार्वजनिक र निजी क्षेत्रको सहभागिताका लागि बलियो ढाँचा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
दुवै पक्ष नेपालमा जलवायु परिवर्तन, जनसङ्ख्या वृद्धि र गरिबीबाट उत्पन्न चुनौतीहरूलाई सम्बोधन गर्न समर्पित छन् र यस साझेदारीले नेपालको कृषि विकास रणनीति (सन् २०१५ देखि २०३५) मा योगदान पु¥याउने उद्देश्य राखिएको पौडेलले जानकारी दिए । अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानका सहायक महानिर्देशक डा.सर्ले तारावालीले उचित पोषण, बाल कुपोषण न्यूनीकरण गर्न, संज्ञानात्मक विकासमा सुधार, खाद्य उत्पादन र स्वास्थ्यका लागि साना किसानको पशुपालन प्रणालीलाई रूपान्तरण गर्न साना पशुपन्छी उत्पादनको महत्व हुने बताए ।
उनले यी उद्देश्यहरू हासिल गर्नकालागि सार्वजनिक र निजी क्षेत्रका सरोकारवालाहरु, द्विपक्षीय विकासका साझेदारहरु र अन्तर्राष्ट्रिय एजेन्सीहरू बीचको समन्वयको आवश्यकतामा जोड दिए । तरावलीले नेपाल सरकारसँगको सहकार्यप्रति उत्साह व्यक्त गर्दै उक्त समझदारीले सानो कदम तर सही दिशामा ठूलो फड्को मारेको बताए । उनले ‘उच्च आर्थिक वृद्धिका लागि दिगो उत्पादन मार्फत खाद्य र पोषण सुरक्षाको राष्ट्रिय लक्ष्यले प्रमाणित गरेको कृषि र पशुधन विकासमा नेपालको प्रतिबद्धतालाई स्वीकार गरे ।
त्यसैगरि हस्ताक्षर कार्यत्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलले नेपालको पशुपालन क्षेत्रमा स्थानिय समस्याहरुलाई समाधान गर्न गरिने अनुसन्धानात्मक कार्यहरुलाई स्तरीय र अन्तराष्ट्रिय परिवेश अनुकुल बनाउनु एक चुनौती रहेको बताए । उनले भने, ‘यस संस्थासँगको सहकार्यले हाम्रा आगामी अनुसन्धनात्मक तथा विकास कार्यहरु बढी फलदायी हुने विश्वास रहेको छ । अन्तराष्ट्रिय तथा क्षेत्रीय बजारमा नेपालका पशुजन्य उत्पादनहरुलाई पहुँच बृद्धि गर्नकालागि साझेदारी अझ बढी सार्थक हुने अपेक्षा छ ।’
उनले विश्वमा कुनै पनि चुनौतीका समाधानको लागि सम्बन्धित सरोकारवालाहरु लगायत अन्तराष्ट्रिय संस्थाहरुको साझेदारी अपरिहार्य रहेकोमा कुनै सन्देह नरहेको यस कार्यले हाम्रा साझेदारी तथा सहकार्यका ढोकाहरु अझ खुल्दै जाने र यस सहकार्यबाट अधिकतम फाईदा लिन देशमा सम्बन्धित विज्ञहरु लाग्नु पर्ने बताए ।
प्रतिक्रिया