पोखराका व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री प्रकाशशरण महत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई भेटेर अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग गरेका हुन् । पोखरा पर्यटन परिषद्को नेतृत्वमा केही दिनअघि काठमाडौं पुगेर टोलीले आफ्ना माग प्रस्तुत गरेको हो । भेटमा प्रधानमन्त्री दाहालले भारत र चीनको औपचारिक भ्रमणका क्रममा पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई प्राथमिकतामा राखेर विषय उठान गर्ने आश्वासन दिएका थिए ।
परिषद्का महासचिव सञ्जयकान्त सिग्देलका अनुसार प्रधानमन्त्री दाहालले भारतसँग पोखरा आउने एयर रुट (हवाई प्रवेश मार्ग) का लागि कुरा राख्ने बताएका थिए । ‘आफैंले उद्घाटन गरेको विमानस्थल भएकोले अन्तर्राष्ट्रिय उडान छिटो गर्नेमा उहाँ सकारात्मक हुनुहुन्छ,’ सिग्देलले भने, ‘छिट्टै निकास निस्कनेमा आशावादी छौं ।’ गत पुस १७ मा प्रधानमन्त्री दाहालले विमानस्थल उद्घाटन गरेका थिए ।
होटल संघ पोखरा नेपालको आयोजनामा लेकसाइडमा आयोजित १८ औं फेवा नव वर्ष महोत्सवको उद्घाटनमा व्यवसायीले अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्ने माग गरे । होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशसम्म उडानका लागि सरकार र निजी क्षेत्र सबै मिलेर पहल गर्नुपर्ने बताए । होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले कूटनीतिक प्रयास गरेर भए पनि पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान यथाशीघ्र सञ्चालन गरिनुपर्ने माग राखे ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नेपाल भ्रमण वर्ष २०२० र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई हेरेर लगानी गरेका व्यवसायी जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको जनाए । ‘व्यवसायीले त्यो अवस्थामा लगानी थपे तर कोरोना महामारी र आर्थिक मन्दीले अपेक्षाअनुसार पर्यटक आएनन्,’ उनले भने, ‘अब पुनर्कर्जा, भुक्तानी तालिकाको पुनर्तालिकीकरणको व्यवस्था नगरे, ब्याजदर एक अंकमा नघटाए व्यवसायी सडकमा आउने स्थिति छ ।’ यस्तो अवस्थामा पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु भए मात्रै पनि राहत मिल्ने उनको भनाइ थियो ।
पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने विषय सरकारसँग गम्भीर रूपमा राखिएको पोखरा महानगर प्रमुख धनराज आचार्यले जनाए । पोखरालाई पर्यटकीय सहर घोषणा गर्ने प्रस्तावको फाइल मुख्य सचिवको टेबलमा पुगेर रोकिएको र संघीय सरकारले घोषणा नगरे प्रदेश सरकार र महानगर मिलेर त्यस्तो घोषणा गरिने उनको धारणा छ । यो घोषणासँगै रत्न मन्दिर र हिमागृह पनि सर्वसाधारणका लागि खोल्ने विषय जोडिएको उनले सुनाए ।
तीनदिने महोत्सवले पर्यटन, संस्कृति र खानालाई मुख्य जोड दिएको छ । विविध खानाका परिकार र सांस्कृतिक प्रस्तुति तथा पञ्चे बाजा, नाचगान, भजनचुड्का र गीतसंगीतका कार्यक्रम महोत्सवमा थिए । महोत्सव स्थानीय खहरेदेखि फिस्टेल गेटसम्म सडकमा नै आयोजना भयो । महोत्सवका अवसरमा होटलको प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गरिएको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । कोभिडलगायत विभिन्न कारणले व्यवसायी पलायन हुँदा र हजारौंको रोजगारी गुम्दा नकारात्मक रूपमा प्रभावित पर्यटन व्यवसायलाई पुनरुत्थान गर्ने उद्देश्य महोत्सवले बोकेको उनले सुनाए ।
प्रतिक्रिया