(Monday , 17 June,2024)

आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई स्वास्थ्य परामर्श सेवा

mountainejournal.com

mountainejournal.com

काठमाडौं । आजदेखि रोजगारीको शिलशिलामा विदेश गएका नेपाली श्रमिकका लागि सरकारले स्वास्थ्य परामर्श सेवा दिंदैछ । सरकारले निःशुल्क रहेको यो सेवा आज बिहान १० बजेबाट भएको छ । 

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने गरी सेवा दिन लागिएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ । सार्वजनिक विदाका दिनबाहेक नेपाली कार्यालय समय बमोजिम सेवा प्रवाह गरिने बोर्डले जनाएको छ ।

यो सेवा लिन चाहने नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, हवाटस एप वा इमो लगायतका सामाजिक सञ्जालबाट फोन गर्न सक्नेछन् ।

यो वर्ष अनलाइनमार्फत सेवा दिइने र सेवा प्रभावकारी भए अर्को वर्षदेखि गन्तव्य मुलुकमा नै गएर सेवा दिने योजना रहेको वैदेशिक रोजगार बोर्ड सचिवालयका उपसचिव राजन पौडेलले जानकारी दिए ।

कल टेलिमेडिसिनका मेडिकल अधिकृतले रिसिभ गरेर बिरामी कामदारलाई विशेषज्ञ सेवा आवश्यक परेमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा उपलब्ध गराउनेछन् । विशेषतः आइतबार र शुक्रबार गन्तव्य मुलुकमा सार्वजनिक विदा पर्ने भएकाले सो दिनमा नै विशेषज्ञ सेवा उपलब्ध गराउन खोजिएको बोर्डले जनाएको छ ।

सेवा लिने श्रमिकको प्रेस्क्रिप्सन अनलाइनमार्फत उपलब्ध गराइने छ । सम्पूर्ण खर्च वैदेशिक रोजगार बोर्डले नै व्यहोर्ने छ । यो सेवा पूर्णतः निःशुल्क रहने बोर्डले जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २ फागुनमा टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेपछि वैदेशिक रोजगार बोर्डले आजदेखि परामर्श सेवा दिन लागेको हो । सेवा प्रवाहका लागि वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँग सम्झौता गरिसकेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal