काठमाडौं । पोखरामा अवतरणका क्रममा आइतबार बिहान दुर्घटनामा परेको यती एअरलाइन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको उक्त वायुसेवा कम्पनीले पुष्टि गरेको छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार तीमध्ये केही शव दुर्घटनास्थलबाट निकालेर अस्पताल लगिएको छ।
नेपाली सेनाका अनुसार विमान खसेको खोँचमा आइतवार अपराह्णसम्म कोही जीवितै फेला परेका छैनन्। हराइरहेका यात्रुको खोजी भइरहेको यती एअरलाइन्स र नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन्। आन्तरिक उडानमा रहेका विमान दुर्घटनामा पर्दा यो नै सबैभन्दा ठूलो मानवीय क्षति भएको घटना भएको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताएका छन्।
सरकारले दुर्घटनाबारे छानबिन गर्न एउटा आयोग गठन गरेको छ तथा वायुसेवाहरूलाई आन्तरिक उडानमा रहेका विमानहरूको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन पनि दिएको छ। प्राधिकरण तथा यती एअरलाइन्सका अनुसार विमानमा चालकदलका चार सदस्यसहित ७२ जना सवार थिए। विमान बिहान १०:५० बजे अन्तिम पटक सम्पर्कमा आएको प्राधिकरणले जनाएको छ। खोजी तथा उद्धारकार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू परिचालित भएका छन्।
नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारी प्रवक्ताले भने,"सुरुमा भेटिएकामध्ये कोही जीवित छन् कि भन्ने ठानिएको होला। तर हामीले अहिलेसम्म घाइते अवस्थामा कसैलाई पनि फेला पारेका छैनौँ।" यसअघि कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले "गम्भीर अवस्थामा फेला परेका दुई जनालाई जीवितै उद्धार गरेर अस्पताल पठाइएको" बताएका थिए। उनका अनुसार विमान लगभग पूरै जलेको छ।
"सेती खोँचमा विमानबाट अरू मानिस पनि खसेको आशङ्कामा खोजी गर्न उद्धारकर्मीहरू डोरीमा झुन्डिएर तल गएका छन्," ढकालले भने। यती एअरलाइन्सले आफ्नो विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरूको शोकमा सोमवार आफ्ना सबै उडानहरू स्थगित गरेको छ।आइतबार साँझ सूचना प्रकाशित गर्दै यतीले "आपत्कालीन र उद्धार बाहेकका सबै उडान" रद्द गरिएको जनाएको छ।
प्राधिकरणका अनुसार अहिले उद्धारकार्यमा ध्यान केन्द्रित भएकाले ककपिट भोइस रेकर्डरको खोजी गर्न अझै बाँकी नै छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीका अनुसार 9N-ANC, ATR-72 500 विमानले अवतरण गर्न "१० देखि २० सेकेन्ड मात्रै बाँकी" थियो। विमान काठमाण्डूबाट १० बजेर ३२ मिनेटमा उडेको थियो।
"दुर्घटनापछि नयाँ बनेको अन्तर्राष्ट्रिय र पुरानो आन्तरिक दुवै विमानस्थल हाललाई बन्द भएका छन्। कहिलेबाट सञ्चालनमा आउँछन् अहिले नै भन्न सकिने अवस्था छैन," ती अधिकारीले बीबीसी न्यूज नेपालीसँग भने।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले "सेती खोँचमा खसेको जहाजका तीनवटा मुख्य टुक्रासम्म पुगेर सुरक्षाकर्मीले उद्धार गरिरहेको" बताएका छन्। उनले खोँचको तलसम्म पुगेर नै खोजी जारी राखिएको भए पनि जीवित फेला पर्ने सम्भावना कम रहेको बताए।
नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानमा ६८ यात्रुमध्ये ५३ जना नेपाली र अरू विदेशी नागरिक थिए। यती एअरलाइन्सका अनुसार विमानमा भएका ७२ जनामध्ये ३७ पुरुष र २५ महिला थिए। यात्रुमध्ये तीन बालक र तीन शिशु थिए।
पोखराविमान दुर्घटनापछि सरकारले गर्यो यी निर्णय
यती एअरलाइन्सको विमान दुर्घटनाको शोकमा माघ २ गते सोमवार सार्वजनिक बिदा घोषणा गरेको छ। यस्तै ,पोखरामा भएको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच-सदस्यीय जाँच आयोग गठन गरेको छ। हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फका सबै वायुसेवा कम्पनीलाई उडानअघि अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन, अनुगमनको जिम्मा नागरिक उड्डयन प्राधिकरणलाई दिएको छ।
प्रतिक्रिया