काठमाडौँ । साउन महिनामा ५७ हजार ३ सय १६.३८ मेट्रिक टन ग्यास आयात भएको छ । नेपाल आयल निगमको पछिल्लो पाँच महिनाको खाना पकाउने ग्यास (एलपी ग्यास) को आयातको तथ्यांकअनुसार यो हालसम्मकै उच्च हो । विगतमा मासिक करिब ४५÷४६ हजार मेट्रिक टन आयात भइरहेको ग्यास यो पटक उच्च वृद्धि भएको छ ।
केही महिना अघि मध्यपूर्वको समस्याका कारण ग्यास अभाव भएपछि उपभोक्तालाई सहज आपूर्ति व्यवस्था गर्न निगमले गत फागुन २९ गतेदेखि असार ३० गतेसम्म आधा सिलिण्डर (७.१ केजी) ग्यास बिक्री गरेको थियो ।
निगमले आधा ग्यास सिलिण्डर बिक्री वितरण गर्दा बजारमा खापत घटेको थियो । फेरी ग्यासमा आपूर्तिमा सहज भएको भन्दै असार ३१ देखि भरी सिलिण्डर (१४.२ केजी) ग्यास दिन थालेपछि एक्कसी धेरै ग्यासको माग बढेको हो ।
निगमको पछिल्लो पाँच महिनाको ग्यास आयातको तथ्यांकअनुसार गत चैतमा ३८ हजार ७१९.४५ मेट्रिक टन, वैशाखमा ३२ हजार ०५६.४४ मेट्रिक टन र २०८३ जेठमा ३२ हजार ८४२.२९ मेट्रिक टन ग्यास अयात भएको छ । यस्तै असारमा ४४ हजार ५४४.५० मेट्रिक टन आयात भएको छ भने साउन बढेर ५७ हजार ३१६.३८ मेट्रिक टन पुगेको छ । विशेष गरी असार महिनाको तुलनामा साउन महिनामा ग्यासको बिक्रीमा ठूलो आएको देखिन्छ ।
निगमका अनुसार साउनमा मात्र अघिल्लो महिना भन्दा करिब ९ लाख सिलिन्डर बढी बिक्री वितरण भएको छ । भदौ महिनामा पनि ग्यासको आयात र वितरण नियमित भइरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने निगमले जनाएको छ । आपूर्ति व्यवस्था सुचारु रहेकाले बजारमा अभाव हुने आशंकामा अनावश्यक रूपमा ग्यास सञ्चित नगर्न निगमले आम उपभोक्तालाई आग्रह गरेको छ ।
प्रतिक्रिया