(Sunday , 28 June,2026)

देशभर धान रोपाइँ १२ प्रतिशत

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । राष्ट्रिय धान दिवससम्म देशभर धान रोपाइँ १२.०७ प्रतिशत मात्र सकिएको छ । देशभर धान खेती हुने कुल १३ लाख ८२  हजार २ सय ६२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १ लाख ६६ हजार ९ सय ३ हेक्टरमा मात्रै रोपाइँ भएको हो । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको तथ्यांक अनुसार असार १२ गतेसम्म उक्त धान रोपाइँ सकिएको हो । गत वर्ष सोही अवधिसँग तुलना गर्दा यो वर्ष कम क्षेत्रफलमा रोपाइँ सकिएको छ । 

गत वर्ष यो समयमा कुल खेती योग्य जमिनको १५.६२ प्रतिशत धान रोपाइँ सकिएको थियो । प्राप्त सिचाइँ सुविधानको कमीले आकासेभरमा कृषकले धान रोपाइँ गर्नु पर्ने बाध्यताका कारण जलवायु परिवर्तनको प्रभावले मनसुन सुरु भएता पनि सक्रिय नहुँदा धान रोपाइँ कम भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाले जानकारी दिए । 

गत वर्षको सोही अवधिको तुलनामा लगभग समान जस्तै  रहेको उनले बताए । मनसुनको अवस्था र वर्षाको पूर्वाअनुमान नेपालमा मनसुन भित्रिसकेको भए पनि यो अझै सशक्त हुन नसकेको प्रमुख देवकोटाले बताए । हालको मौसमी सूचकहरू र समुद्री सतहको अवस्थालाई हेर्दा साउन महिनामा पानी कम पर्न सक्ने अनुमान गरेको उनले जानकारी दिए । भौगोलिक रूपमा हेर्दा अहिले पूर्वको तुलनामा पश्चिम नेपालमा बढी वर्षा भइरहेको उनले बताए । 

उनका अनुसार मधेश प्रदेशको स्थिति धान खेतीको मुख्य क्षेत्र मानिने मधेश प्रदेशमा अहिले कृषकहरूले भर्खर बिउ राख्ने (नर्सरी) काम सुरु गरेका छन् । मधेशमा धेरै क्षेत्रमा धान खेती हुने भए पनि अहिल्यै खडेरी पर्यो भनेर आत्तिने बेला भइनसकेको देवकोटाले बताए । असार १५ गतेपछि मात्र रोपाइँको वास्तविक स्थिति र प्रगतिको बारेमा ठोस रूपमा भन्न सकिने उनले जानकारी दिए ।

जलवायु परिवर्तन र उत्पादनमा चुनौती पछिल्ला केही वर्षहरुमा असार १५ सम्म पनि रोपाइँको प्रतिशत कम नै भइरहेको तथ्यांक छ । मुख्य कारण जलवायु परिवर्तन रहेको उनले भनाइ छ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको तथ्यांक अनुसार असार १२ सम्म सधै भन्दा धेरै गण्डकी र कर्णाली प्रदेशमा सकिएको छ भने सबै भन्दा कम मधेश र कोशी प्रदेशमा भएको छ । 

केन्द्रका अनुसार असार १२ सम्म गण्डकीमा २३.६८ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यो समयमा १३.७९ प्रतिशत रोपाइँ भएको थियो । गत वर्षको भन्दा यो वर्ष ९.८९ प्रतिशत बढेको छ । यो प्रदेशमा ९३ हजार ६०६ हेक्टरमा धान रोपाइँ हुन्छ । यस्तै कर्णाली प्रदेशमा धान रोपाइँ हुने क्षत्रेफलको २२.८१ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यहि अवधिमा ३९.१४ प्रतिशत भएको थियो ।

असार १२ सम्मको  तथ्यांक अनुसार यो वर्ष धान रोपाइँमा कमी आएको देखिन्छ । यो प्रदेशमा कुल ४३ हजार २९० हेक्टर धान रोपाइँ हुने जमिन मध्ये ९ हजार ८७५ हेक्टरमा धान रोपाइँ सकिएको हो ।  केन्द्रका अनुसार असार १२ सम्ममा मधेश प्रदेशमा जम्ममा ५.०१ प्रतिशत मात्र धान रोपाइँ सकिएको छ । ३ लाख ८२ हजार ४३३ हेक्टरमा धान रोपाइँ हुन्छ । यसमध्ये अहिले १९ हजार १५७ हेक्टरमा मात्र धान रोपाइँ भएको छ । गत वर्ष पनि यो अवधिमा ३.८९ प्रतिशत नै धान रोपाइँ भएको थियो । 

यस्तै कोशी प्रदेशमा ८.२५ प्रतिशत रोपाइँ भएको छ । गत वर्षको यही अवधिमा १४.२५ प्रतिशत रोपाइँ भएको थियो । यो प्रदेशमा धान रोपाइँ हुने क्षेत्रफल २ लाख ७६ हजार ३८६ हेक्टर छ, जसमध्ये २२ हजार ८१४ हेक्टरमा रोपाइँ भएको हो । यसैगरी सुदूपश्चिममा ९.२६ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्षको यहि अवधिमा ४४.४९ प्रतिशत रोपाइँ भएको थियो ।  गत वर्षको यहि अवधिसँग तुलना यो वर्ष धेरै कम  ३६.२३ प्रतिशत बन्दुले कम सकिएको छ । यो प्रदेशमा १ लाख ७० हजार ६५० हेक्टरमा धान रोपाइँ हुन्छ । 

यसैगरी लुम्बिनी प्रदेशमा २०.८ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्ष यो बेला ९.६६ प्रतिशत रोपाइँ सकिएको थियो । यो प्रदेशमा ३ लाख १ हजार ३७२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । बागमतीमा १२.५९ प्रतिशत रोपाइँ सकिएको छ ।  गत वर्ष यहि अवधिमा २०.५३ प्रतिशत रोपाइँ भएको थियो । यो प्रदेशमा १ लाख १४ हजार ५२४ हेक्टर क्षेत्रफलमा रोपाइँ हुन्छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal