(Friday , 24 April,2026)

खाडी खुलेसँगै विदेशिने बढे, २ दिनमै ५ हजार बढीले लिए श्रम स्वीकृति

mountainejournal.com

mountainejournal.com

काठमाडौं । युद्धका कारण खाडी मुलुकहरूमा रोकिएको वैदेशिक रोजगार फेरि सुरु भएसँगै विदेशिनेको संख्या उल्लेख्य बढ्न थालेको छ ।

खाडी तथा पश्चिम एसियाका विभिन्न १२ मुलुकमा श्रम स्वीकृति बन्द हुँदा वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको थियो । तर, श्रम स्वीकृति खुलेसँगै पछिल्लो दुई दिनमा मात्रै ५ हजार ७ सय ३० जनाले श्रम स्वीकृति लिएका छन् । जसमा खाडी तथा पश्चिम एसियाका १२ मुलुकका लागि श्रम स्वीकृति लिनेको संख्या मात्रै ३ हजार ४ सय ८३ रहेको छ । 

इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण झन्डै दुई महिनाअघि खाडी लगायत पश्चिम एसियाका विभिन्न देशमा श्रम स्वीकृति स्थगन गरिएको थियो । युद्धविराम भएर अवस्था केही सहज बनेसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुई दिनअघि श्रम स्वीकृति खुला गरेको हो।

विभागको वैदेशिक श्रम स्वीकृति शाखाका निर्देशक खिलराज राईका अनुसार बुधबार मात्रै २ हजार ९ सय ९६ जनाले श्रम स्वीकृति लिएका छन् । तीमध्ये श्रम स्वीकृति रोकिएर खोलिएका मुलुकहरूमा १ हजार ८ सय ३८ रहेको विभागको तथ्यांकले देखाएको छ ।

श्रम स्वीकृति खुलेको पहिलो दिन मंगलबार २ हजार ७ सय ३४ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा १२ देशका लागि १ हजार ६ सय ४५ जनाले श्रम स्वीकृति लिएका थिए।

श्रम मन्त्रालयले गत फागुन १७ गते मन्त्रिस्तरीय निर्णयबाट साउदी, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा श्रम स्वीकृति स्थगन गरेको थियो । अवस्था सहज भएपछि वैशाख ७ गतेदेखि फेरि खुला गरेको थियो । श्रम स्वीकृति खुला गरेसँगै वैदेशिक रोजगारीमा जानेहरूको संख्या बढ्न थालेको हो।

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा चैत मसान्तसम्म ५ लाख ८७ हजार ३ सय ३२ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा ५ लाख १७ हजार ९ सय २९ जना पुरूष र ६९ हजार ४ सय ३ जना महिला रहेका छन् । चैत महिनामा मात्रै ६१ हजार ८ सय १९ जनाले श्रम स्वीकृति लिएका छन् । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal