(Sunday , 19 April,2026)

नेपालको आर्थिक वृद्धिदर ३ प्रतिशतः आईएमएफ

mountainejournal.com

mountainejournal.com

काठमाडौं– अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । आईएमएफले गत बिहीबार सार्वजनिक गरेको एसिया प्यासिफिक क्षेत्रीय प्रतिवेदनमा यो प्रक्षेपण गरिएको हो ।

उसका अनुसार मध्यपूर्वमा जारी तनाव तथा गत सेप्टेम्बरमा नेपालको जेनजी आन्दोलन लगायतका कारण आर्थिक वृद्धि तीन प्रतिशतमा खुम्चिने छ । तर, आगामी वर्ष २०२७ मा आर्थिक वृद्धि भने ४.६ प्रतिशत हुने अनुमान गरेको छ । यसअघि दुवै वर्षको प्रक्षेपण योभन्दा धेरै थियो ।

यस्तै, हालको मध्यपूर्वको तनावले नेपालमा मूल्यवृद्धिको दबाब पनि बढाउने आईएमएफले जनाएको छ । प्रतिवेदनमा नेपालमा रासायनिक मलको लागत बढ्ने अनुमान गर्दै यसबाट किसानको आम्दानी घट्नुका साथै खाद्यान्नको मूल्य बढ्न सक्ने अनुमान छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ढुवानी लागत बढाउने र त्यसको प्रत्यक्ष असर सबैतर्फमा पर्ने भनिएको छ ।

नेपालको आर्थिक वृद्धि ३ प्रतिशतमा झरे पनि यो वर्ष सन् २०२६ मा एसिया प्यासिफिक क्षेत्रको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने आईएमएफको अनुमान छ । यस क्षेत्रमा नेपालभन्दा तल बु्रनाई र थाइल्याण्ड रहेका छन् । यस्तै, म्यान्मारको आर्थिक वृद्धि पनि तीन प्रतिशतमा मात्र रहने अनुमान गरिएको छ ।

सन् २०२६ को सुरुमा एसियाली अर्थतन्त्र सुदृढ अवस्थामा रहे पनि मध्यपूर्वमा विकसित भूराजनीतिक तनावले मुद्रास्फीति बढाउने र आर्थिक वृद्धिलाई सुस्त बनाउने जोखिम निम्त्याएको उसको भनाइ छ ।

सन् २०२५ मा एसियाली अर्थतन्त्रमा ५ प्रतिशतको विस्तार भएको थियो भने सन् २०२६ मा ४.४ प्रतिशत र २०२७ मा ४.२ प्रतिशतमा खुम्चिने अनुमान गरिएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal