काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको छ । मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मतदाता अनुपस्थित भएका कारण शतप्रतिशत मतदान हुन नसकेको हो
पार्टीको सम्पूर्ण ध्यान फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा केन्द्रित भएका कारण राष्ट्रिय सभा निर्वाचनमा भाग नलिइएको पार्टीले जनाएको छ । अरू दलका केही प्रदेश सांसद र स्थानीय तहका प्रतिनिधि पनि मतदानमा अनुपस्थित भएका छन् ।
निर्वाचनबाट नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारहरू विजयी भएका छन् । कांग्रेसले एमाले र लोसपासँग राष्ट्रिय सभामा तालमेल गर्ने सहमति गरेको थियो ।
शेरबहादुर देउवा सभापति र पूर्णबहादुर खड्का कार्यवाहक सभापति भएका बेला यस्तो सहमति भएको थियो । कुल १८ पदका लागि भएको निर्वाचनमा ९ ठाउँमा कांग्रेसले उम्मेदवारी दिएको थियो । एमालेले ८ ठाउँमा र लोसपाले १ ठाउँमा उम्मेदवारी दिएका थिए ।
निर्वाचन परिणाम अनुसार कोशी प्रदेशमा नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए । यसैगरी नेकपा एमालेबाट रोशनी मेचे र सोमनाथ पोर्तेल निर्वाचित भएका छन् ।
मधेश प्रदेशमा नेपाली कांग्रेसका धमेन्द्र पासवान र रञ्जित कर्ण, लोसपाबाट महन्थ ठाकुर र एमालेबाट रेखाकुमारी झा निर्वाचित भएका छन् ।
बागमती प्रदेशमा नेपाली कांग्रेसबाट गीता देवकोटा र प्रेमप्रसाद दंगाल निर्वाचित भएका छन् ।
गण्डकी प्रदेशमा एमालेबाट सम्झना देवकोटा, कांग्रेसबाट जगत तिमिल्सिना निर्वाचित भएका छन् ।
लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, एमालेबाट रामकुमारी झाँक्री निर्वाचित हुँदा कर्णाली प्रदेशबाट कांग्रेसका ललितजंग शाही र एमालेबाट मीनासिंह रखाल निर्वाचित भएका छन् ।
सुदूरपश्चिम प्रदेशमा एमालेका लीलाकुमारी भण्डारी र कांग्रेसका खम्मबहादुर खाती निर्वाचित भएका छन् ।
प्रतिक्रिया