(Thursday , 16 April,2026)

खाद्य कम्पनीले मंगलबारदेखि धान खरिद गर्दै

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मंगलबार (कात्तिक ११) देखि किसानको धान खरिद गर्ने भएको छ । कम्पनीले हरेक वर्ष सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्दै आएको छ ।

यो कार्यक्रमलाई निरन्तरता दिँदै कात्तिक ११ देखि धान खरिद गर्ने निर्णय गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिए । उनका अनुसार यस पटक कम्पनीले धान खरिदका लागि ७० करोड रुपैयाँ बजेट छुट्याएको छ । कुल १ लाख ९० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य यस वर्षको छ । 


गत वर्ष कम्पनीले ७ लाख ३ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेर २ अर्ब ६५ करोड रुपैयाँ बजेट छुट्याएको थियो । तर, कम्पनीले लक्ष्यको आधा पनि धान खरिद गर्न सफल भएन । गत वर्ष १ लाख २० हजार क्विन्टलमात्र धान खरिद गरेको थियो ।

यस पटक कम्पनीले धान खरिद गर्ने लक्ष्य र बजेट दुवै घटाएको छ । यस वर्ष लक्ष्य पूरा हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत आचार्यले बताए । गत वर्ष निजी क्षेत्रले खरिद गरेको धान अहिलेसम्म मौज्दात छ । यसैले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने सम्भावना कम भएको हुँदा कम्पनीले लिएको लक्ष्य पूरा हुने उनको भनाई छ ।

पहिलो चरणमा कम्पनीले १ लाख ९० हजार क्विन्टल धान खरिद गर्ने निर्णय गरेको छ । बजारको माग र आपूर्तिको अवस्था हेरेर धान खरिद गर्ने कोटा बढाउन सकिने उनले बताए ।

प्रमुख आचार्यका अनुसार कम्पनीले धान खरिद गर्नका लागि १३ वटा खरिद केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । धान उत्पादनको पकेट क्षेत्रलाई आधार मानेर खरिद केन्द्र निर्धारण गरिएको हो । महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगञ्ज, जुम्ला, तुलसीपुर, भैरहवा, पोखरा, वीरगञ्ज, लहान, जनकपुर, विराटनगर र बिर्तामोडमा खरिद केन्द्र सञ्चालन गरिनेछ ।

उनका अनुसार आवश्यकता अनुसार खरिद उपकेन्द्र सञ्चालन गर्न सकिने निर्णयसमेत गरिएको छ । कम्पनीले धान खरिद गर्दा किसान सूचीकरण फारम भरी प्रमाणित गरेर एक प्रति किसानलाई दिने र एक प्रति खरिद केन्द्रले अभिलेखका रुपमा राख्ने प्रबन्ध गरेको छ ।

सरकारले चालु आर्थिक वर्ष २०८२–८३ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ निर्धारण गरेको छ । धान खरिद बापतको रकम सोझै किसानको बैंक खातामा अनलाइन माध्यमबाट जम्मा गरिने प्रमुख आचार्यले जानकारी दिए ।
गत वर्ष कम्पनीले सुदूरपश्चिम प्रदेशबाट कात्तिक २१ गतेदेखि धान खरिद गर्न सुरु गरेको थियो । फागुन पहिलो हप्तासम्म कम्पनीले धान खरिद कार्यक्रम सञ्चालन गरेको थियो ।

कम्पनीका अनुसार सरकारले निर्धारण गरेको समर्थन मूल्यभन्दा धेरै व्यवसायीले दिएको हुँदा झापा, मोरङ र रुपन्देहीमा कम्पनीले धान खरिद गर्न सकेको थिएन । गत वर्ष मोटा धानको प्रतिक्विन्टल ३ हजार ४ सय १० रुपैयाँ मूल्य निर्धारण गरेको थियो । यसैगरी मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ तोकिएको थियो । ठूलो धान मिल भएको क्षेत्रमा किसानले सरकारको समर्थन मूल्यभन्दा प्रतिक्विन्टल १५० रुपैयाँ बढी पाएपछि व्यापारीलाई बिक्री गरेका थिए । आर्थिक वर्ष २०८०–८१ मा भने सरकारले मध्यम धानको प्रतिक्विन्टल ३ हजार ३ सय ६२ र मोटा धानको ३ हजार १ सय ९८ रुपैयाँ मूल्य निर्धारण गरेको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal