(Thursday , 16 April,2026)

राष्ट्रिय वाणिज्य बैंकको मात्र १८ किलो

mountainejournal.com

mountainejournal.com

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीको असर अन्य क्षेत्रजस्तै बैंकमा पनि परेको छ । आन्दोलनका क्रममा बैंकहरूबाट नगदसँगै लकरमा राखिएको सुन पनि लुटिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखाहरूबाट १८ किलो सुन र ५ करोड रुपैयाँभन्दा धेरै नगद दुई दिनको आन्दोलनका क्रममा लुटिएको छ । आन्दोलनकारीले यो बैंकको नयाँ बानेश्वर शाखा तोडफोड तथा आगजनी गरी ३६ करोड रुपैयाँको सुन तथा नगद लुटेका छन् ।

बैंकको बानेश्वर शाखाबाट १७ हजार ९ सय ४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद लुटिएको छ । यो शाखाबाट सुन तथा नगद गरेर ३८ करोड ४० लाख रुपैयाँ बराबरको नोक्सानी भएको बैंकले जनाएको छ । बैंकबाट सबैभन्दा बढी सुन नै लुटिएको छ । वर्तमान मूल्यअनुसार करिब ३३ करोड २४ लाख रुपैयाँ हाराहारीको सुन लुटिएको छ । वाणिज्य बैंकको भैरहवा भन्सार कार्यालय शाखामा समेत तोडफोड र लुटपाट भएको छ । बैंकको कार्यालय, फर्निचर र कागजपत्रमा पूर्ण रुपमा क्षति भएको बैंकले जनाएको छ ।

राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको अवलोकन गरेका छन् । पौडेलले आइतबार स्थलगत अवलोकन गरेर क्षतिको अवस्थाबारे जानकारी लिएका थिए । वाणिज्य बैंकमा भएको पैसा लुट्दा सुरेश देउलाले भिडियो खिच्न थालेपछि लुटपाट मच्चाएका एक व्यक्तिले पैसा छाडेर भागेका थिए । ललितपुरका ३७ वर्षीय देउलाले ५ लाख १० हजार ५ सय रुपैयाँ जिल्ला प्रहरी परिसरमा बुझाएका छन् । बानेश्वर शाखामा लुटपाटमा संलग्न केही व्यक्तिलाई नेपाली सेनाले नियन्त्रणमा समेत लिएको छ ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संगठन नेपाल बैंकर्स संघका अनुसार देशभर बैंकहरूका ६१ वटा कार्यालयमा आन्दोलनकारीले क्षति पुर्‍याएका छन् । केही स्थानका एटीएम मेसिन तोडफोड भएका छन् । बैंकका कार्यालयको झ्यालढोका फुटाउने तथा फर्निचर तोडफोड भएको संघले जनाएको छ । पूर्ण रूपमा क्षति भएका केहीमात्र रहेको संघले जनाएको छ । कतिपय सरकारी कार्यालयका छेउमा भएका बैंकका शाखाहरूमा बढी तोडफोड भएको छ ।

मारवाडी सेवा समितिको बत्तीसपुतलीमा रहेको भवन प्रदर्शनकारीले जलाएपछि सोही भवनमा रहेको हिमालयन बैंकको शाखा कार्यालय पनि जलाएका थिए । बैंकमा रहेको भल्ट सुरक्षित नै रहेको बैंकका बत्तीसपुतली शाखा प्रमुख तुलसी कार्कीले कारोबारलाई बताए । उनले भने, ‘भवन जलाइसकेपछि केही लुटेराहरू आएर बैंकको शाखा कार्यालयमा आगजनी र तोडफोड गरे । अन्य केही एटीएमहरुमा पनि तोडफोड भए पनि नगद भने सुरक्षित छ,’ उनले भने ।

यस्तै, विभिन्न स्थानमा रहेका भाटभटेनी सुपरमार्केट प्रदर्शनकारीले जलाउँदा त्यहाँ रहेका बैंक एटीएमहरुमा क्षति पुगेको छ । भाटभटेनीको भरतपुर र विराटनगर स्टोर भएको स्थानमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको पनि शाखा कार्यालय रहेकोमा यी कार्यालयमा पूर्ण रुपमा क्षति भएको छ । यद्यपि, बैंकको भल्ट सुरक्षित रहेकोले नगद भने सुरक्षित नै रहेको बताइएको छ ।

थापाथलीमा रहेको सेन्ट्रल बिजेनस पार्क पूर्ण रुपमा जलेको छ । यसले गर्दा उक्त टावरमा रहेको ग्लोबल आइएमई बैंकको शाखा कार्यालयमा पनि पूर्ण रुपमा क्षति पुगेको छ । बैंकको भल्ट आगलागीबाट सुरक्षित हुने भएकोले नगद सुरक्षित हुन्छ । तर, भौतिक संरचनमा भने क्षति पुगेको छ ।

विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको संस्था डेभलपमेन्ट बैंकर्स संघका अनुसार केही विकास बैंकका शाखा कार्यालयमा सामान्य भौतिक क्षति भएको देखिन्छ ।

अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रममा गभर्नर विश्व पौडेलले बैंकिङ प्रणालीका सिस्टमहरू सबै ठिक रहेको बताएका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal