(Thursday , 16 April,2026)

यो वर्ष चामल आयात झण्डै दोब्बर

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । सरकारले मुलुकलाई धानमा आत्मनिर्भर बनाउने लक्ष्य राखेर दुई दशकदेखि ‘धान दिवस’ मनाउँदै आए पनि त्यसले ठोस प्रतिफल दिन सकेको छैन ।

आन्तरिक उत्पादन बढाउने उद्देश्य राखेर सरकारले २०६१ देखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । तर, आन्तरिक उत्पादनमा सुधार नहुँदा चामल आयात भने वर्षेनि बढ्दो क्रममा छ ।

चालु आर्थिक वर्षको ११ महिनामै झण्डै ३९ अर्ब रुपैयाँबराबरको चामल आयात भएको छ । भन्सार विभागका अनुसार यो जेठसम्ममा ३८ अर्ब ९४ करोड २८ लाख रुपैयाँबराबरको चामल आयात भएको हो । गत वर्ष यही अवधिमा २१ अर्ब १३ करोड ७ लाख रुपैयाँको चामल आएको थियो ।

चालु आवमा गत वर्षभन्दा १७ अर्ब ८१ करोड २१ लाख रुपैयाँ धेरैको चामल आयात भएको छ । यो वर्ष चामल आयात रकमका आधारमा मात्र होइन, परिमाणमा पनि निक्कै बढेको छ ।

विभागका अनुसार गत वर्ष जेठसम्ममा ३ लाख ९० हजार २०८ टन धानचामल आयात भएको थियो । यो वर्ष सोही अवधिमा ७ लाख ५३ हजार ३०५ टन आयात भएको छ । गत वर्षको तुलनामा ३ लाख ६३ हजार ९७ टन बढी आयात बढेको हो । यो तथ्यांकले दुई दशकदेखि धान दिवस मनाए पनि यसको खासै औचित्य सावित हुन नसकेको देखाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार पछिल्ला वर्षमा धान उत्पादन बढेकाले मुलुक आत्मनिर्भर हुन करिब ६ लाख टन चामल अपुग छ ।

मन्त्रालयका तथ्यांक शाखा प्रमुख रामकृष्ण रेग्मीले यो वर्ष चामल आयात झण्डै दोब्बरले बढेको बताए । उनका अनुसार पछिल्लो समय धान उत्पादन बढ्दै गए पनि आन्तरिक मागअनुसार ६ लाख टन चामल अपुग छ । तर, आन्तरिक मागको अपुग परिमाणभन्दा चामल आयात धेरै भइरहेको छ । यो थप अध्ययनको विषय हो । आन्तरिक मागभन्दा बढी चामल आयात हुनुको कारणबारे ठोस अध्ययन नगरी भन्न नसकिने रेग्मी बताए । स्वदेशी उत्पादन बढ्दै गर्दा पनि चामलको आयात कम नहुने विषयलाई सम्बन्धित निकायले अध्ययन गर्न आवश्यक देखिएको रेग्मीको भनाइ छ ।

भन्सार विभागका महानिर्देशक महेश भट्टराईले चामल आयात बढ्नुमा मुख्य रुपमा दुईवटा कारण रहेको बताए । पहिलो, बजारको मागअनुसार आन्तरिक उत्पादन बढ्न सकेको छैन । दोस्रो, विगतमा चोरी पैठारीबाट आयात हुने गरेको चामल यो वर्ष भन्सार विन्दुबाट आएकाले धेरै देखिएको हो । ‘विगतमा भन्सार बिन्दुबाट नभएर अनौपचारिक रुपमा (चोरी–पैठारी भएर) चामल आयात भइरहँदा आयात कम देखिएको थियो,’ उनले भने, ‘यो वर्ष

सरकारले विभिन्न नाकामा कडाइ गरेका कारण चामल औपचारिक रुपबाट आउँदा परिमाण धेरै देखिएको हो ।’ धान उत्पादनको तथ्यांक पनि अनुमानका आधारमा हुने गरेको उनले जानकारी दिए । सरकारसँग यकिन उत्पादनको तथ्यांक छैन । त्यही कारण मागअनुसार भन्सारबाट चामल आयात भइरहेको महानिर्देशक भट्टराईको दाबी छ । भन्सार प्रणालीमा गत वर्षभन्दा चालु आवमा चामल आयात बढी भएको देखिनु सकारात्मक पक्ष भएको उनको भनाइ छ ।

कृषि मन्त्रालयको तथ्यांकअनुसार यो वर्ष ५९ लाख ५५ हजार ४ सय ७६ टन धान उत्पादन भएको छ । यो हालसम्मकै सबैभन्दा बढी उत्पादन हो । गत वर्षभन्दा यो वर्ष २ लाख ३१ हजार २ सय ४२ टन धान धेरै उत्पादन भएको छ । गत वर्ष ५७ लाख २४ हजार २ सय ३४ टन धान उत्पादन भएको थियो । मन्त्रालयका अनुसार यो वर्ष १४ लाख २० हजार ६ सय ३६ हेक्टरमा धानखेती लगाइएको थियो । गत आवमा योभन्दा धेरै १४ लाख ३८ हजार ९ सय ८९ हेक्टरमा धानखेती गरिए पनि उत्पादन यो वर्षभन्दा कम भएको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal