काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा करिब साढे २ खर्ब रुपैयाँको वस्तु निर्यात भएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो निर्यात १ खर्ब रुपैयाँले बढी हो । गत आर्थिक वर्षको ११ महिनामा १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँको वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांक छ।
यो वर्ष निर्यात व्यापारले नयाँ सम्भावना देखिएको छ । गत आर्थिक वर्षको तुलनामा निर्यात ७७.७७ प्रतिशतले बढेको विभागले जनाएको छ। आर्थिक वर्ष २०७८–७९ मा पहिलो पटक २ खर्ब ३ करोडको वस्तु निर्यात भएको थियो। त्यसयता अहिले २०८१–८२ को ११ महिनामै निर्यात २ खर्ब ४७ अर्ब रुपैयाँ नाघेको छ । खाने तेलका कारण समग्र निर्यात व्यापार बढेको हो। निर्यात बढ्दा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा घटेको विभागको तथ्यांकले देखाउँछ। गत आर्थिक वर्षको ११ महिनामा कुल व्यापारमा निर्यातको हिस्सा ८.७४ र आयातको हिस्सा ९१.२६ प्रतिशत थियो। चालु आर्थिक वर्षमा निर्यातको हिस्सा बढेको छ भने आयातको घटेको छ। कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १३.०८ र आयातको ८६.९२ प्रतिशत छ।
विभागका अनुसार डिजेल, भटमासको कच्चा तेल, पेट्रोल, खाना पकाउने ग्यासलगायत वस्तु सबैभन्दा बढी आयात भएको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म डिजेलमात्रै १ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँको आएको छ। कच्चा भटमासको तेल ९५ अर्ब ७२ करोड, पेट्रोल ५८ अर्ब ५८ करोड र खाना पकाउने ग्यास ५७ अर्ब ३६ करोड रुपैयाँको आयात भएको छ।
चालु आर्थिक वर्षको ११ महिनाको कुल आयात व्यापारमा कच्चा भटमास, सनफ्लावर र पाम तेलको हिस्सा ८ प्रतिशत छ। निर्यात हुनेमा प्रशोधित भटमासको तेल, सनफ्लावरको बीउ र तेल, गलैंचा, अलैंचीलगायत छन्। प्रशोधित भटमासको तेल ९३ अर्ब ५१ करोड, सनफ्लावरको बीउ र तेल ११ अर्ब ३३ करोड, गलैंचा ९ अर्ब ७८ करोड र अलैंची ७ अर्ब १९ करोड रुपैयाँको निर्यात भएको छ। निर्यात बढ्नुको मुख्य कारणमा प्रशोधित भटमासको तेल छ। यसले कुल निर्यातको ३७.७७ प्रतिशत हिस्सा ओगटेको छ।
प्रतिक्रिया