(Tuesday , 18 March,2025)

तल झरेको सुनको मूल्य फेरि उकालो लाग्दै

mountainejournal.com

mountainejournal.com

काठमाडौं– दुई महिनाअघि ओरालो लागेको सुन मूल्य फेरि उकालोतर्फ लागेको छ । दूई महिनाअघि १ लाख ४८ हजार रुपैयाँमा झरेको सुनको मूल्य प्रतितोला १२ हजार रुपैयाँ बढेर १ लाख ६० हजार रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार मंगलबार प्रतितोला एक लाख ५८ हजार १ रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार प्रतितोला एक हजार ९ सयले बढेर एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको हो । रुस र युक्रेनबीचको युद्धपछि अन्तर्राष्ट्रिय बजारमा उकालो चढ्दै गएको सुनको मूल्य अमेरिकाको ४७औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएपछि ओरालो लागेको थियो ।

ट्रम्प निर्वाचित भएकै दिन सुनको मूल्य प्रतिऔंस ७६ डलर घटेको पनि थियो । सनुचाँदी व्यवसायीले ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर नेपाली बजारमा प्रतितोला १ लाख ४० हजार रुपैयाँसम्म तल झर्ने अनुमान गरेका थिए ।

तर, राष्ट्रपति ट्रम्पले सपथ लिएको पछि सुन मूल्य उल्टै उकालो लागेको छ । पछिल्लो समय राष्ट्रपति ट्रम्पप्रति लगानीकर्ताको विश्वास घटेपछि सुनको मूल्य फेरि अन्तर्राष्ट्रिय बजारमा बढेको सुनचाँदी व्यवसायी तेजरत्न शाक्यको भनाइ छ । राष्ट्रपति ट्रम्प निर्वाचित हुँदा र अहिले सपथ लिएपछि फरक फरक बोली बोलेको हुँदा लगानीकर्ताको ट्रम्पप्रति विश्वास हटेर फेरि सुनको माग बढ्न थालेको उनले बताए ।

राष्ट्रपतिमा निर्वाचन हुँदा ट्रम्पले उत्पादनमा लगानी गरी आर्थिक सुधार गर्ने र विश्वयुद्ध रोक्ने वातावरण मिलाउने बताएका थिए । व्यवसायी शाक्यले भने, ‘ट्रम्प निर्वाचित भएकै दिन सुनको मूल्य प्रतिऔंस ७६ डलर घटेको पनि थियो । ट्रम्पले इजरायल–हमास युद्ध रोक्ने वातावरण बनाउने प्रतिवद्धता जनाउँदा लगानीकर्ता सुनमा लगानी गर्न छोडेर अन्य क्षेत्रमा लाग्दा सुनको मूल्य ओरालो लागेको थियो ।’

राष्ट्रपतिको सपथ लिएपछि लगानीकर्ता नै तर्सिने खालका गतिविधिले गर्दा फेरि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने अनुमान रहेको शाक्यको भनाइ छ । दुई दिनमै प्रतिऔंस ५० डलर बढेको छ । यसअघि प्रतिऔंस २ हजार ५ सयसम्म झर्ने अनुमान गरेको थियो । उनले भने, ‘अहिले २ हजार ७७३ डलर पुग्ने अनुमान गरेको छ । यो नेपाली प्रतितोला १ लाख ६५ हजार रुपैयाँ हो ।’

पछिल्लो समय सुनको मूल्य बढ्नुको मुख्य कारण लगानीकर्ताको राष्ट्रपति ट्रम्प नेतृत्वप्रति विश्वास घट्नु रहेको सुनचाँदी व्यवसायी शाक्यको भनाइ छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार कात्तिक १५ गते १ लाख ७१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । यो मूल्य नेपाली बजारको इतिहासकै उच्च थियो । कात्तिकपछि सुनको मूल्यमा ओरालो झर्दै गत मंसिर ११ गते एक लाख ४८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal