काठमाडौं– सरकारले आर्थिक वर्षको बीचमा विभिन्न कारण देखाउँदै पाँच वस्तुमा करका दर चलाएकोे छ । गत बिहीबारको मन्त्रिपरिषद् बैठकबाट सुन, चाँदी, मार्बल र ग्रेनाइटमा भन्सार महशुल घटाएको हो भने केराउमा अग्रिम आयकरको दर कम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनमा भन्सार महशुल बढी भएको भन्दै अर्थमन्त्री विष्णु पौडेललाई भेटेर समायोजन गर्न पटक–पटक आग्रह गर्दै आएको थियो । भन्सार विभागका अनुसार गत बिहीबारको मन्त्रिपरिषद् बैठकले सुनमा लाग्ने भन्सार महशुल २० बाट १० प्रतिशत कायम गरेको छ । चाँदीको १५ प्रतिशतबाट १० प्रतिशत गरिएको छ । यसैगरी मार्बल र ग्रेनाइटको कच्चा पदार्थ आयातमा लाग्दै आएको ३० प्रतिशत भन्सार महशुललाई २० बनाइएको छ । यस्तै केराउमा १० प्रतिशत अग्रिम कर लिने गरेकामा घटाएर २.५ प्रतिशतमा झारिएको छ ।
मन्त्रालयका प्रवक्ता महेश भट्टराईले कच्चा वस्तुको भन्सार दर कम र प्रशोधित वस्तुको बढी हुनुपर्नेमा उल्टो भएकाले दर परिवर्तन गरिएको जानकारी दिए । यसअघि सुनमा २० प्रतिशत र सुनका गहनामा १५ प्रतिशत भन्सार महशुल थियो । उनले यसका अतिरिक्त सुनमा अत्यधिक कर हुँदा चोरीपैठारी बढेकाले यसलाई नियन्त्रण गर्न पनि दर घटाएर १० मा झारेको बताए । प्रवक्ता भट्टराईले भने, ‘भारतले सुनचाँदीमा लाग्दै आएको भन्सार दर घटाएको छ । नेपालमा बढी भारतमा कम हुँदा मूल्यमा धेरै अन्तर परी चोरीपैठारी बढेकाले बजार मूल्य सन्तुलनमा राख्ने उद्देश्यले सुनमा दर घटाइएको हो ।’
यस्तै, केराउ र मार्बलमा उपभोक्ताको हित र स्वदेशी उद्योगीलाई प्रोत्साहित गर्न कच्चा मार्बल र ग्रेनाइटमा लगाएको कर घटाइएको प्रवक्ता भट्टराईले जानकारी दिए । भन्सार विभागका एक अधिकारीका अनुसार आर्थिक वर्षको बजेट ल्याएर कार्यान्वयनमा आइसकेपछि बीचमा भन्सारका दरहरु परिवर्तन गर्नु सैद्धान्तिक रुपमा खासै राम्रो हुँदैन । बजेट ल्याउनुअघि अध्ययन गरी भन्सारका दर परितर्वन गरिएको हुन्छ । बीचमा करका दर परिवर्तन गर्दा राज्य प्रशासनप्रतिको विश्वास हुँदैन । ती अधिकारीले भने, ‘नेपालमा धेरैजस्तो करका दर राज्यको हकमा भन्दा उद्योगी–व्यवसायीको इच्छामा परिवर्तन भएका हुन्छन् । पछिल्लो समय भन्सार राजस्व कम भइरहेको अवस्थामा बीचमै करका दरहरु घटाउँदा राजस्वमा प्रत्यक्ष असर पर्नेछ ।’
ती अधिकारीका अनुसार मार्बल कच्चा पदार्थ भएको हुँदा ठूलो असर हुने छैन भने केराउमा लगाएको अग्रिम कर धेरै नै कम गरेको हुँदा असर पर्नेछ । सुुनमा कर धेरै हुँदा पछिल्लो समय चोरीतस्करी बढेकाले कर घटाउँदा भन्सारको बाटो आउँछ कि भन्ने अपेक्षा हो । तर, सरकारले बीचमा करका दर परिवर्तन गर्नु राम्रो नभएको ती अधिकारीले बताए ।
करका दर किन र केका लागि परिवर्तन गरेको भन्ने विषय सरकारसँग जोडिएको भन्दै विभाग कार्यान्वयन गर्ने निकायमात्र भएको भन्सार विभागका उपमहानिर्देशक जनकराज शर्माले बताए । ‘सरकारले राज्यकै हितमा हुने गरी आर्थिक वर्षका बीचमा कर परिवर्तन गरेको छ । यो कानुनले दिएको सुविधा हो । बीचमा करका दर परिवर्तन गर्दा भन्सार राजस्व बढ्ने र घट्ने दुवै हुन सक्छ । कुनै वस्तुमा करका दर घटाउँदैमा राजस्व घट्छ भन्ने मात्र नभएर बढ्न पनि सक्छ,’ उनले भने । तर, अहिले नै के हुन्छ भन्न नसकिने उपमहानिर्देशक शर्माको भनाइ छ ।
स्वदेशी उद्योगलाई मध्यनजर गरेर मार्बलको कच्चा पदार्थमा भन्सार महशुल घटाएको उनले बताए । यसबाट राजस्वमा केही फरक परे पनि ठूलो अन्तर नहुने उनको भनाइ छ । विभागका अनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म १ खर्ब ८८ अर्ब रुपैयाँ भन्सार राजस्व संकलन भएको छ । यसमध्ये चार महिनामा २ अर्ब १७ करोडको सुन आयात गर्दा ४९ करोड ९६ लाख रुपैयाँ राजस्व संकलन भएको हो । यस्तै १ अर्ब १८ करोड चाँदी आयात गर्दा १७ करोड ९८ लाख रुपैयाँ राजस्व उठेको छ । चार महिनामा मार्बल ७७ करोड २१ लाख रुपैयाँको आयात गर्दा ३८ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
यो वर्षका चार महिनामा केराउ १ करोड ३८ लाख रुपैयाँको आयात भएको छ । यसबाट ८८ लाख रुपैयाँ राजस्व संकलन भएको छ । विभागका अनुसार गत वर्षको तुलनामा ८ प्रतिशतले राजस्व वृद्धि भएको छ । गत वर्ष कात्तिकसम्ममा १ खर्ब ४६ अर्ब राजस्व संकलन भएको थियो ।
प्रतिक्रिया