काठमाडौँ । सूर्यविनायक नगरपालिकालले पुराना मौलिक शैलीमा नयाँ संरचना निर्माण गरी उदाहरणीय बन्न सफल भएको छ । मौलिक र आधुनिकको सुन्दर ‘फ्युजन’ सहितको विकासका कार्य गरी उदाहरणीय बन्न सफल भएको हो । हरेक क्षेत्रमा ‘स्थितिगत्यात्मक प्रगतिवाद’ को विचारधारालाई पछ्याउँदै नगरपालिकाले पुराना राम्रा विषयलाई लिइ नराम्रालाई छोड्दै, असल नयाँ पक्षलाई समेत समेट्दै अघि बढी रहेको छ ।
एक वडा एक फल्चा’ नारासहित नगरपालिकाले आफ्ना १० वटै वडामा पुरानो शैलीका फल्चा निर्माण गरेको छ । प्रतिक्षालय आवश्यक पर्ने स्थानमा फल्चाको निर्माण गरि आवश्यकता र मौलिकतालाई सँगसँगै लैजाने पक्षमा सबैका लागि अनुकरणीय बन्न सफल बनेको छ सूर्यविनायक नगरपालिका सफल भएको छ ।
नगरपालिकाले हाल भौतिक पूर्वाधार साथसाथै मानवीय विकासलाईसमेत प्राथमिकतामा राखेर अगाडि बढिरहेको सूर्यविनायककी उपप्रमुख सरिता तिम्सिना भट्टराईले बताइन् । राष्ट्रिय सञ्चार केन्द्रद्वारा आयोजित ‘सूर्यविनायक नगरपालिकाको नमूना विकास अवलोकन तथा स्थलगत अन्तरक्रिया कार्यक्रम’ का क्रममा उनले सो बारे बताएकी हुन् ।
‘दिगो विकास व्यवस्थित शहर,
स्वच्छ समृद्ध सूर्यविनायक नगर’ भन्ने भिजन लिइ नगरपालिकाले दियो विकासका लागि २० वर्षे आवधिक योजना बनाएर अघि बढिरहेको उनले जानकारी दिइन् । सो योजनालाई वर्षैपिच्छे बजेट विनियोजन गरि कार्यान्वयनतर्फ लागिएको समेत उनले बताइन् । नगरभित्रका ग्रामीण बस्तीका उत्पादन बजारीकरण आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले ग्रामीण सडक विकासका भइरहेको उपप्रमुख तिमसिना भट्टराईले जानकारी दिइन् । सडकको विकासले पर्यटनमा समेत सहयोग पुग्ने विश्वास उनले व्यक्त गरिन् ।
सूर्यविनायक नगरपालिकामा हाल ११ मिटरका ४४ किलोमिटर बाटो रहेको र त्यसमध्ये २८ किलोमिटर पिच भइसकेको र प्रायः सबै खोलामा पुलसमेत बनिसकेको उनले बताइन् । नगरपालिकाभित्रका सबै विद्यालयहरुमा भौतिक पूर्वाधार पुर्याइसकेको उपप्रमुख सरिता तिमसिना भट्टराईले बताइन् । विद्यालयहरुमा विद्यार्थीको संख्या बढ्ने क्रममा उनको भनाइ छ । ‘यसपटकको एसईईको नतिजामा ८५ प्रतिशत उत्तीर्ण भएका छन् । जसमध्ये सामुदायिक विद्यालयको केही कम ५६ प्रतिशत छ र निजी विद्यालयमा ९५ प्रतिशत छ ।’ उनले भनिन् ।
हाल नगरपालिकाका ४५ सय घरधुरी स्वास्थ्य बीमामा आवद्धसमेत रहेको उनले जानकारी दिइन् । स्वास्थ्य बीमामार्फत् स्वास्थ्य संस्थामा सहज र कम मूल्यमा पहुँच विस्तार गर्नका लागि नगरपालिकाले एक घरधुरीको एक हजार रुपैयाँ तिरिदिने गरेका कारण हाल नगरमा २५०० रुपैयाँमा स्वास्थ्य बिमा हुनेगरेको उनले बताइन् । सूर्यविनायक नगरपालिकाका अस्पतालमा हाल बर्थिङ सेन्टरसमेत उपलब्ध रहेका उनले जानकारी दिइन् ।
नगरपालिकाको २ नम्बर वडाले एक वडा एक फल्चा नीतिअनुसार गणेश मन्दिरमा फल्चा निर्माण गरेको वडा अध्यक्ष प्रदिप कार्कीले जानकारी दिए । गत आर्थिक वर्ष र चालू आर्थिक वर्षमा १३ लाख र १७ लाख रुपैयाँ गरि ३० लाख बजेटमा फल्चा, चौतारी आदि निर्माण गरिएको उनले बताए । उक्त फल्चा रहेको स्थानमा पहिले पनि फल्चा रहेको र विभिन्न कारणले जीर्ण भइ भत्किएका कारण हाल निर्माण भएको फल्चा त्यसैको स्मारकको रुपमा समेत रहेको कार्कीले बताए ।
फल्चाको निर्माण सकिइएको छ तर रङरोगन लगायतका फिनिसिङका कार्यहरु बाँकी रहेको छ । सडक स्तरोन्नतिका लागि सूर्यविनायकको १ नम्बर वडा स्थित कौशलटार–बालकोट–बिरुवा सडकको २.२ किलोमिटर सडक चालू आर्थिक वर्षमा पिच गरिएको सो वडाका वडाध्यक्ष सानुकाजी कायस्थले बताए । संघको सहयोगमा समेत अन्य सडकहरुको कालोपत्रे भइरहेको उनले जानकारी दिए । नगरपालिकाको २ नम्बर वडामा रहेको चरखण्डी मन्दिरमा पनि नगरपालिकाको नीति अनुसार नै फल्चा बनाइएको उनले बताए ।
पूर्वाधार विकास अन्तर्गत नगरपालिकाले विनियोजन गरेको १ करोड रुपैयाँमा ४९ लाख रुपैयाँ थप गरेर ४ नम्बर वडामा पानीट्याङ्कीदेखि गाम्छा निस्कने सडक कालोपत्रे गरिएको वडाध्यक्ष लच्छुराम न्यौपानेले जानकारी दिए । संघ र प्रदेशको सहयोगमा वडामा विभिन्न विकास निर्माणका कार्यहरु भइरहेको उनले बताए । सो वडामा सडकको निर्माण र स्तरोन्नतिका लागि नगरपालिकाले यथासक्य सहयोग गरेको समेत उनले बताए । ढल साथै खानेपानीको क्षेत्र सुधारका लागि समेत सो वडाले कार्यहरु गरिरहेको न्यौपानेले बताए ।
नगरपालिकाको ७ नम्बर वडाका वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले संघीय सरकार र बागमती प्रदेश सरकारको अनुदानमा विगत २ वर्षदेखि केही कमी आएका कारण अपेक्षा अनुसारका विकास निर्माणका कार्य गर्न नसकिएको बताए । प्रत्येक वडा एक सदस्य रहनेगरि पाण्डुबजारमा निर्माण गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको ट्याङ्कीबाट पानी वितरण गरिने र वडाले आफ्नो वडामा खपत भएको पानीको एकमुष्ठ पैसा तिर्नेगरि योजना बनाइएको नगरपालिकाका प्रवक्ता सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया