काठमाडौं । नेपाल र उत्तरी छिमेकी चीनबीच स्थल तथा हवाई नाका पूर्णक्षमतामा चल्दा पनि चिनियाँ पर्यटक आगमन अपेक्षित बढ्न सकेको छैन ।कोभिड-१९ महामारीका कारण चीनले हवाई र स्थल दुवै नाकाबाट आवतजावत रोकेको थियो । सन् २०२३ सुरुबाटै नाका सुचारु भए पनि चीनबाट आउने पर्यटक अझै अपेक्षित वृद्धि हुन सकेको छैन । नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबर २०२३ मा ६ हजार ८ सय ८० चिनियाँ नेपाल भ्रमणमा आएका थिए ।
त्यसको पाँच महिनापछि फेब्रुअरी २०२४ मा ९ हजार १ सय ८० आए । यो संख्या आगमनका दृष्टिले दोस्रो ठूलो रहे पनि चिनियाँ र अमेरिकी पर्यटकबीच ठूलो अन्तर छैन । यो महिना अमेरिकाबाट ९ हजार ८९ जना नेपाल आएका छन् । यसमा चिनियाँ पर्यटक भित्र्याउन नेपालको कमजोर पहल र चिनियाँ अर्थतन्त्रमा पछिल्लो समय देखिएको सुस्तता मुख्य कारण रहेको सरोकारवाला बताउँछन् ।
कोभिड महामारीपछि नेपालका तर्फबाट चीनमा एउटा पनि प्रवर्द्धनको काम भएको छैन । अहिले जति पर्यटक आएका छन्, त्यो निजी ट्राभल कम्पनीको पहल र चिनियाँ पर्यटकको आफ्नै रोजाइमा आइरहेको सी एन्ड के नेपाल ट्राभल्सका कार्यकारी निर्देशक विश्वेश श्रेष्ठ बताउँछन् ।‘नेपालको सबैभन्दा ठूलो स्रोत बजारमा प्रवर्द्धनको काम ठप्प छ,’ श्रेष्ठले भने, ‘जति आएका छन्, त्यसमा निजी क्षेत्र र पर्यटक स्वयम्को पहलमा आएका हुन् ।’
चीनमा नेपाल प्रवर्द्धनको काम ठप्प रहेको पर्यटन बोर्डका निर्देशक मणि लामिछाने स्वीकार्छन् । ‘चीनमा कोभिडयता कुनै पनि प्रवद्र्धनको काम भएकै छैन,’ उनले भने, ‘अन्तर्राष्ट्रिय प्रवर्द्धनमा लगानी गर्न नसक्दा अपेक्षित संख्या बढ्न नसकेको हो ।’ अहिले नेपाल प्रवर्द्धनमा नेपाल सरकारभन्दा बढी नेपालस्थित चिनियाँ दूतावास बढी सक्रिय रहेको देखिन्छ । दूतावासकै पहलमा काठमाडौंमा चिनियाँ नयाँ वर्ष लक्षित विभिन्न कार्यक्रम आयोजना गरिएका थिए । यसबाहेक दूतावासकै पहलमा पोखरामा जहाज चार्टर्ड गरी खेलाडी ल्याएर ड्र्यागन रेससमेत आयोजना गरिएको थियो ।
अहिले नेपालबाट चीनको छेन्दु, बेइजिङ, ग्वाङझाउ, ल्हासा, साङ्घाईसहित सहरमा सिधा उडान सुचारु भइसकेको छ । एयर चाइना, चाइना साउदर्न, चाइना इस्टर्न, हिमालय एयरलाइन्स, सिचुआन एयरलाइन्स र तिब्बत एयरलाइन्सले नेपाल उडान सुचारु गरिसकेका छन् । स्थलतर्फ रसुवागढी नाकाबाट पनि पर्यटक भित्रिन सक्ने गरी सुचारु भएको छ । मुस्ताङको कोरला नाकासमेत खुला भएको छ ।
प्रतिक्रिया