(Friday , 17 April,2026)

इच्छाराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरिवाना

mountainejournal.com

mountainejournal.com

काठमाडाैँ । सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वसांसद तथा सिभिल ग्रुपका पूर्वअध्यक्ष इच्छाराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ ७५ पैसा जरिवाना तोकिएको छ ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुुसार तामाङसँगै अर्का आरोपी सिर्जना शाक्य र केशवलाल श्रेष्ठलाई भने डेढ/डेढ वर्षको कैद सजाय तोेकेको छ । अदाततले सिर्जनालाई १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ १० पैसा र केशवलालाई २५ करोड ६५ लाख ८६ हजार १२४ रुपैयाँ ३७ पैसा जरिवाना तोकेको कार्कीले जानकारी दिए ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई आइतबार सजाय सुनाएको हो । तामाङ यसअघि नै दोषी करार भइसके पनि सजाय निर्धारणका लागि आज पेसी तोकिएको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष तामाङसहित उनको परिवारका ६ जनाविरुद्ध २०७९ भदौ १६ गते मुद्दा दायर गरेको थियो ।

विभागले तामाङ, उनकी श्रीमती, दुई छोरी, सहकारीका तत्कालीन अध्यक्ष केवशलाल श्रेष्ठ र उनकी श्रीमती बिना श्रेष्ठसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो । विभागले दायर गरेको मुद्दामा ३ अर्ब ३१ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको दावी गरिएको छ। यस्तै, तामाङकी श्रीमती सिर्जना शाक्यले १ अर्ब ३ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको विभागको दाबी छ ।

तामाङका छोरीहरु प्रतिक्षासँग ६ करोड २२ लाख र प्रतिशाले १ करोड ८९ लाख, सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठले २६ करोड रुपैयाँ सम्पत्ति गैरकानुनी देखिएको अभियोगपत्रमा दाबी गरिएको छ । कूल बिगो ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ दाबी गरिएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal