(Thursday , 16 April,2026)

मानवीयताका लागि सहयोगको ओइरो

संवाददाता

संवाददाता

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति आएको भूकम्पबाट पीडित बनेका सर्वसाधारणका लागि राहत घोषणा गर्ने सयौंको संख्यामा पुगेका छन् ।

मुलुकका तीनै तहका सरकार, निजी क्षेत्र, संघसंस्था र व्यक्तिगत रुपमा करोडौं रुपैयाँबराबर सहयोग गर्ने घोषणा गरिएको छ । यस्तै, छिमेकी भारत र चीनसहित अन्य धेरै विदेशी मुलुकहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । भूकम्प पीडितका लागि नगद बाहेक खाद्यान्न, लत्ताकपडा, औषधीलगायत सामग्री सहयोग गर्ने पनि सयौंको संख्यामा छन् । केही संघसंस्था र व्यक्तिहरु यस्ता सामग्री बोकेर भूकम्पग्रस्त क्षेत्रमा पुगेका छन् ।

जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहतका लागि प्रतिजिल्ला ५ करोड रुपैयाँ दिने निर्णय गरेको संघीय सरकारले आइतबार फेरि मृतकका परिवारलाई २ लाख रुपैयाँका दरले प्रदान गर्ने भएको छ । यस्तै, सरकारले भूकम्पबाट पीडितका लागि सहयोग गर्न सबैमा अपिल गरेको छ । देश तथा विदेशमा रहेका सहयोग गर्न इच्छुक सम्पूर्णलाई सहयोग सहयोग गर्न सरकारले अपिल गरेको हो ।

सरकारले भूकम्पमा परी घाइते भएका सबैलाई निःशुल्क उपचार गर्ने निर्णय समेत गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । पीडितलाई आएको सहयोग रकम सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने बताएको छ । सहयोग गर्न इच्छुकलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको चल्ती खाता नं ११३०१००००३७६२००१ मा जम्मा गर्न अनुरोध गरिएको छ ।

नेपाली कांग्रेसका संघीय संसद् सदस्यले जाजरकोट भूकम्पबाट पीडितका लागि १५ दिनको तलब दिने घोषणा गरेका छन् । कांग्रेसका प्रतिनिधि सभामा ८८ जना र राष्ट्रिय सभामा १० जना गरी ९८ जना सांसद छन् । यस्तै नेकपा माओवादी केन्द्रले भूकम्प प्रभावित कर्णाली प्रदेशका पीडितहरूको राहत र पुनर्निर्माणमा ५० लाख रुपैयाँ घोषणा गरेको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भूकम्प पीडितलाई सहयोग उपलब्ध गराउन सरकारी कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । यसैगरी राप्रपाका संघीय सांसद र प्रदेश सभा सदस्यहरूको एक महिनाको तलब दिइने राप्रपाले जनाएको छ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ राहत सहयोग गर्ने घोषणा गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । एनआईसी एशिया बैंकले जाजरकोट भूकम्प पीडितलाई ५१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । यसैगरी बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले १० लाख आर्थिक सहयोगको घोषणा गरेको छ । निर्माण व्यवसाय विकास परिषद्ले निर्माण व्यवसाय कोषबाट भूकम्प पीडितका लागि २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको तलब भूकम्प पीडितलाई प्रदान गर्ने घोषणा गरेका छन् । गण्डकी प्रदेश सभा सदस्य डिल्लाराम सुवेदीले एक महिनाको पारिश्रमिक भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्ने भएका छन् । कांग्रेसका संघीय सांसद प्रदीप पौडेलले सरकारी कोषमा एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् ।

भारतले १० करोड रुपैयाँ बराबरको आपतकालीन राहत सामग्रीको पहिलो खेप हस्तान्तरण गरेको छ । आइतबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगन्जमा नेपालका सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई सो राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

भूकम्प प्रभावितका लागि नेपाल क्रिकेट संघ (क्यान)ले पनि आर्थिक सहयोग गर्ने भएको छ । क्यानले आईसीसी विश्वकप टी–२० को एसिया छनोटअन्तर्गत आइतबार भएको फाइनल खेलको टिकट बिक्रीबाट उठेको रकमको ५० प्रतिशत भूकम्प पीडितलाई प्रदान गर्ने भएको हो ।

यस्तै आईएमई लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भूकम्प प्रभावितलाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । ललितपुरको जावलाखेलमा आयोजना गरिएको गोदावरी मेलामा आइतबार बिक्री भएको टिकटबाट संकलित ५० प्रतिशत रकम पनि भूकम्प पीडितलाई उपलब्ध गराइने भएको छ ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले भूकम्प पीडितको उद्धार तथा राहतका लागि तत्काल १० हजार अष्ट्रेलियन डलर सहयोग गर्ने भएको छ । यसैगरी चितवनको भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । महानगरपालिकाले जनप्रतिनिधिको एक महिनाको तलब, अधिकृतस्तरका कर्मचारीको ५ दिनको तलब, सहायक स्तरका कर्मचारीको ३ दिनको तलब, मावि शिक्षकको ३ दिनको तलब, आधारभूत तहका शिक्षकको २ दिनको तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट उक्त रकम जम्मा गर्ने जनाएको छ ।

सिन्धुपाल्चोकका तीनवटा स्थानीय तहले ३५ लाख सहयोग गर्ने निर्णय गरेका छन् । बाह्रबिसे नगरपालिकाले १५ लाख, भोटेकोशी गाउँपालिकाले १० लाख र त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख सहयोग प्रदान गर्ने निर्णय गरेका हुन् । पोखरा महानगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा ५० लाख सहयोगको घोषणा गरेको छ । महानगरले जनप्रतिनिधिको एक महिनाको पारिश्रमिकबापतको १३ लाख १५ हजार र बाँकी विपद् कोषबाट व्यहोर्ने गरी ५० लाखबराबरको राहत सहयोग गर्न लागेको हो ।

त्यस्तै भोजपुरको पौवादुङमा गाउँपालिकाले भूकम्प पीडितलाई दुई लाख सहयोग गर्ने भएको छ । डोल्पाको ठूलीभेरी नगरपालिकाले ५ लाख नगदसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) आरके शर्मा समूहले २ वर्षभित्र १० करोडको आपतकालीन राहत तथा उद्धार कोष बनाउने घोषणा गरेको छ । उनले व्यक्तिगत तर्फबाट २१ लाख रुपैयाँ प्रदान गरेका छन् । यसैगरी नेपाल चेम्बर अफ कमर्सले भूकम्पबाट प्रभावितलाई आवश्यक खाद्यान्न, त्रिपाल, लत्ताकपडा लगायत सिरक डसना र म्याट्रेस सहयोग गर्ने घोषण गरेको छ । आरजु राइस मिलले १२ लाख बराबरको चामल सहयोग गर्ने भएको छ । आइएमई ग्रुपले १ करोड ५० लाख नगद सहयोगको घोषणा गरेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal