काठमाडौं– मुलुकभित्र मनाइने ठूला साना सबै चाडपर्वमा आवश्यक खाद्यान्नलगायतका वस्तुको सहज आपूर्तिमा साल्ट ट्रेडिङ कर्पाेरेसनको भिन्नै भूमिका देखिन्छ । लामो समयदेखि चाडपर्वमा उपभोक्तालाई आवश्यक खाद्यान्न र अन्य सामग्रीको सर्वसुलभ आपूर्तिका लागि संस्थाले विभिन्न स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउने गरेको छ । संस्थाले विगतको परम्परालाई यो वर्ष पनि निरन्तरता दिएको छ ।
मुलुकको राजधानी काठमाडौं उपत्यकामा अहिले साल्ट ट्रेडिङका थप दुई सहुलियत पसल सञ्चालनमा छन् । साल्ट ट्रेडिङले सतुंगल, कालिमाटी, पाटन, कोटेश्वर, बालकुमारी, भक्तपुर र लगनखेलमा विगतका वर्षदेखि नै यस्ता पसल सञ्चालन गर्दै आएको थियो । यस वर्ष थप दुई ठाउँ कौशलटार र चाबहिलको सिफलमा पनि सहुलियत पसल सञ्चालनमा ल्याइएको हो । यससँगै साल्ट ट्रेडिङले देशभरि ५३ वटा शाखा कार्यायलबाट उपभोक्तालाई सहुलियत मूल्यमा खाद्यान्नलगायतका वस्तु उपलब्ध गराइरहेको छ ।
संस्थाका अनुसार चामल, दाल, गहुँ, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, र चिउरामा प्रतिकिलो–प्रतिलिटर सात रुपैयाँसम्म छुट दिइएको छ । यस्तै नुनमा प्रतिप्याकेट दुई रुपैयाँ छुट दिइएको छ । संस्थाले संचालनमा ल्याएका पसलमा सामान खरिद गर्ने उपभोक्ताको भीड देखिन्छ । साल्ट ट्रेडिङले बिक्री गर्ने अनेकौं वस्तुमध्ये केही खाद्य वस्तु आफ्नै ब्रान्डका छन् भने केही अरु विभिन्न कम्पनीका उत्पादन हुन् ।
साल्ट ट्रेडिङका आफ्नै ब्रान्डमध्ये एस टिसी रातो चिउरा, एसटिसी लोकल ताइचिन चिउरा, एसटिसि मुसुरो दाल, कालो मुसुरो गेडादाल, ननपोलिस रहर दाल, मास, ठूलो दाना, चनाको दाल, ठूलो दाना, ठूलो काउली चना, बोडी ठूलो दाना, खैरो चना, खोस्टा मुंग दाल, नेपाली राजमा, भटमास, मुंग छाँटा दाल शान्ति तोरीको तेललगायतका खाद्य वस्तु छन् । शान्ति तोरीको तेल साल्ट ट्रेडिङले गत वर्षको तिहारबाट बजारमा ल्याएको हो ।
हेटौँडास्थित बन्द भएको नेपाल वनस्पति उद्योग सञ्चालन गरी साल्ट ट्रेडिङले शुद्ध तोरीको तेल शान्ति ब्राण्डमा बजारमा ल्याएको हो । सर्वसाधारण माझ यो तेल निकै लोकप्रिय बनेको छ । एक लिटरको बोतलमा यो तोरीको तेल बजारमा उपलब्ध छ । सर्वसाधारणले बजारमा आइरहेको तोरीको तेलप्रति गुणस्तरमा शंका गर्न थालेपछि संस्थाले मागअनुसार यो तेल बजारमा ल्याएको हो ।
साल्ट ट्रेडिङका प्रबन्धक व्रजेशकुमार झाका अनुसार यो तेल दैनिक चार सय लिटर खपत भइरहेको छ । सर्वसाधारणको मागलाई पूरा गर्ने गरी गुणस्तरीय तोरीको तेल ल्याएको झाको भनाइ छ । झाले साल्ट ट्रेडिङले ल्याएको तेलमा कुनै केमिकल नमिसाइएको जानकारी दिए । ‘शुद्ध र परम्परागत रूपमा मिलबाट तोरी पेली आएको तेललाई ३ पटक फिल्टर गरेर बजारमा ल्याइएको छ,’ उनले भने ।
कर्पोरेसनले अहिले आयोडिनयुक्त नुन, एसटीसी ब्रान्डको खाना पकाउने ग्यास, चामल, गेडागुडी, स्थानीय उत्पादनलाई प्याकिङ गरी उपभोक्तामाझ पुर्याउँदै आएको छ । कर्पोरेसनले गुणस्तरीय वस्तुको उलब्धतासँगै विभिन्न सामाजिक कार्य पनि गर्दै आएको छ । यसैगरी साल्ट ट्रेडिङले २०२० सालदेखि निरन्तर रूपमा आयोडिनयुक्त नुन देशभरि आपूर्ति गर्दै आएको छ । यसले आपूर्ति गर्दै आएको आयोडिनयुक्त नुनमा आजसम्ममा कुनै पनि उपभोक्ताबाट गुनासो र प्रश्नसमेत उठको छैन ।
साल्ट ट्रेडिङले दुर्गम २२ हिमाली जिल्लामा वितरण गर्ने भानु नुनमा सरकारले ढुवानी अनुदान उपलब्ध गराउँछ । यस्तो नुन प्रतिकेजी नौ रुपैयाँमा बिक्री वितरण भइरहेको छ । यस्तै तराईका सीमावर्ती जिल्लामा तेज र शक्ति नुन प्रतिकेजी १५ रुपैयांँमा बिक्री वितरण भइरहेको छ । देशभर आयोनुन भने प्रतिकेजी २० रुपैयाँमा बिक्री वितरण गरिँदै आएको छ । यो चाडपर्वमा उपभोक्तालाई प्रतिकेजी नुनमा दुई रुपैयाँ छुट उपलब्ध छ ।
बजारमा निजी व्यापारीले अत्याश्वयक वस्तु उपलब्ध नगराएको अवस्थामा साल्ट ट्रेडिङको सेवाले धेरै राहत पुर्याउँदै आएको छ । अहिले बजारमा चिनीको हाहाकार हुँदा सर्वसाधारणले थोरै मात्रामा भए पनि साल्ट ट्रेडिङबाट चिनी पाएका छन् । संस्थाले प्रतिपरिवार दुई किलो चिनी ९७ रुपैयाँमा उपलब्ध गराएको छ ।
प्रतिक्रिया