(Sunday , 19 April,2026)

सात महिनमा ५ लाख ३४ हजार पर्यटक भित्रिए

संवाददाता

संवाददाता

काठमाडाैँ । सन् २०२३ को ७ महिना (जनवरी-जुलाई) सम्म ५ लाख ३४ हजार २ सय ७ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जुनसम्म ४ लाख ७६ हजार ४ सय ८१ पर्यटकले नेपाल भ्रमण गरेका थिए । जुलाई महिनामा मात्र ५७ हजार ७ सय २६ पर्यटक नेपाल आएका छन् ।

जुनमा ७२ हजार २ सय ५० पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपाल पर्यटन बोर्डका अनुसार मार्च महिनामा (९९ हजार) आउने पर्यटक कोभिड-१९ पछिकै सबैभन्दा धेरै थियो । कोभिड-१९ को ३ वर्ष पछि एक लाखको हाराहारीमा पहिलो पटक पर्यटक आगमन भएको थियो ।

सन् २०२३ को जनवरीमा ५५०७४, फेब्रुअरीमा ७३२५५, मार्चमा ९९४२६, अप्रिलमा ९८७९३, मेमा ७७७०१, जुनमा ७२२५० र जुलाइमा ५७७२६ पर्यटक गरि पछिल्लो ७ महिनामा ५ लाख ३४ हजार २ सय ७ पर्यटक नेपाल आएका छन् ।

सन् २०२२को यही समय (जुनमा) ४४ हजार ४ सय २६ पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ । कोभिड-१९ को महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किने क्रममा रहेको बोर्डले जनाएको छ । कोभिड-१९ कारण विगत ३ वर्षदेखि सुस्ताएको पर्यटन आगमन सन् २०२३ बाट वृद्धि हुँदै गएकाले सन् २०१९को हाराहारीमा पर्यटक आगमन हुने विश्वास लिइएको छ ।

सार्क क्षेत्रबाट २ लाख २१ हजार ९ सय ६२, एशिया क्षेत्रबाट ८१ हजार ७ सय ९४, युरोपबाट ९२ हजार १ सय ७९, आसियानबाट २० हजार ४८९, अमेरिकाबाट ६३ हजार २०, मध्यपूर्वबाट ५ हजार २४ र अन्यदेशबाट ४९ हजार २ सय ३९ जना पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ । नेपाल भ्रमणमा आउने पर्यटकमा भारतीय हिस्सा सबैभन्दा बढी छ ।

पछिल्लो सात महिनामा भारतबाट १ लाख ८८ हजार (३५ प्रतिशत), अमेरिकाबाट ५४ हजार ९सय (११ प्रतिशत), बेलायतबाट २७ हजार ८ सय (५ प्रतिशत) र चीनबाट २५ हजार ८ सय (४.८३ प्रतिशत) पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

जुलाइमा मात्र भारतबाट २१ हजार ३ सय, चीनबाट ५ हजार ६ सय, अमेरिकाबाट ५ हजार ५ सय र बेलायतबाट ३ हजार ६ सय रहेका छन् । भारत र अमेरिकाबाट नेपाल भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि भएपनि अन्य देशबाट आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुन सकेको छैन । चीनबाट आउने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको भएपनि अपेक्षाकृत रुपमा भने वृद्धि भएको छैन ।

सरकारले छिमेकी मुलुक भारत र चीनबाट पर्यटक आगमन वृद्धि गर्न कुनै ठोस कार्यत्रम छैन । भारतबाट र चीनबाट पर्यटक वृद्धि गर्न सकेको खण्डमा मात्र पनि १० लाख पर्यटक भित्र्याउन सकिने अवस्था रहेको होटल संघ नेपाल (हान) को भनाइ छ ।

चीन र भारतमा ठूला प्रचार प्रसारमा जोड दिएको खण्डमा मात्र पनि नेपालमा पर्यटको आगमन वृद्धि गर्न सकिने हानका वरिष्ठ उपाध्यक्ष प्रविन पाण्डेले बताए । उनले भने, ‘चीन र भारतको उडान संख्यामा वृद्धि गर्न सके पनि पर्यटकको आगमन वृद्धि हुन्छ ।’

चीनबाट चार्टर उडान वृद्धि हुने क्रममा रहेको र हिमालयन एयरलाइन्सले चीनको बेइजिङ उडान सुरु गरेकाले गर्दा पर्यटकको आगमनमा वृद्धि हुने आशा गरिएको छ । अन्य वायुयान कम्पनीले पनि चीनबाट काठमाडौं उडान गर्ने इच्छा देखाएका चिनियाँ पर्यटकको आगमनमा वृद्धि हुने वरिष्ठ उपाध्यक्ष पाण्डेको विश्वास छ । उनले भने, ‘अफ सिजनमा भएपनि पर्यटक आगमन भएको देखिन्छ ।

आगामी महिनामा सिजन पनि भएकाले पनि हालसम्म आएको भन्दा दोब्बर पर्यटक आउने देखिएको छ । सरकारले सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यो वर्ष करिब १० देखि १२ लाख पर्यटक आगमन हुने देखिन्छ ।” काराेबार दैनिक 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal