काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा रेशमसहित १९ जनाको कैद सजाय माफी दिएका हुन् ।आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद्को सिफारिस बमोजिम टोपबहादुर बुढा सहित १९ जनालाई संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । पाँच वर्ष ३ महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको हो ।
डिल्लीबजार कारागारका जेलर खड्गराज शर्माका अनुसार रेशमलाई आममाफी दिने राष्ट्रपतिको निर्णय गृह मन्त्रालयबाट कारागार व्यवस्थापन विभाग हुँदै पत्र आएपछि कार्यान्वयन हुनेछ ।
विद्यार्थी जीवनकालमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट रत्नराज्यलक्ष्मी क्याम्पसको स्ववियु सदस्य समेत भएका रेशम गीत संगीतमा लागेपछि सक्रिय राजनीतिबाट लगभग अलग भएका थिए ।
राजनीतिबाट अलग भएपछि उनी मार्सल आर्ट प्रशिक्षक भए, रेडियो कार्यक्रम चलाउन थाले । तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएपछि प्रधानमन्त्रीका लागि निवेदन माग गर्दा रेशमले पनि निवेदन दिएर चर्चामा आए । २०६२÷६३ को आन्दोलन सफल भएपछि रेशम कैलालीको टीकापुर फर्किए ।
टीकापुरमा फूलबारी एफएम चलाउन थाले, टीकापुर महोत्सव गर्न थाले । महोत्सवमा प्रमुख दलका नेताहरुलाई प्रमुख अतिथि बनाएर लैजाने गरेका उनले नेता बन्ने चाह लुकाएका थिएनन् ।
दोस्रो संविधानसभामा प्रदेशहरुको संख्या र सीमाबारे बहस चर्किरहेका बेला देशका विभिन्न भागमा आन्दोलन उठ्यो । सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमकोनारा लाग्यो । रेशम बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरको थारु बहुल क्षेत्रलाई छुट्टै प्रदेश बनाउनुपर्छ भन्ने आन्दोलनमा लागे ।
त्यसक्रममा ७ भदौ २०७२ मा टीकापुरमा हिंसात्मक घटना भयो । तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको हत्या भयो । त्यसको अक्रोशमा भोलिपल्ट रेशमको घर, एफएममा आगजनी भयो । थारु समुदायका ८८ वटा घरमा लुटपाट र आगजनी भयो ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले आफूसहित ८८ जनाविरुद्ध मुद्दा चलाएपछि रेशम फरार भए । भूमिगत रहेकै अवस्थामा कहिले जंगल त कहिले खेतबारीमा भिडियो रेकर्ड गराएर आफू निर्दोष भएको सन्देश प्रवाह गरिरहे । २०७३ असोजमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा रहेका बेला रेशम एक रात्रिभोजमा उनलाई भेट्न सफल समेत भए ।
प्रतिक्रिया