(Sunday , 19 April,2026)

पर्यटक बसपार्क नहुँदा समस्या

mountainejournal.com

mountainejournal.com

 काठमाडौँ   । सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बसपार्कको माग भएको लामो समय भइसकेको छ । तर अझै पनि पर्यटक बसपार्कको माग भने पूरा हुन सकेको छैन । जसकारण पर्यटक बसहरु सडकलाई नै अस्थायी बसपार्कका रुपमा प्रयोग गर्न बाध्य भइरहेका छन् ।     
     
 हवाईमार्ग हुँदै नेपाल भित्रिने पर्यटकहरु काठमाडौँ आइपुग्छन् । र, काठमाडौँबाट हवाई तथा सडकमार्ग हुँदै विभिन्न पर्यटकीय गन्तव्यमा जान्छन् । काठमाडौँबाट विभिन्न पर्यटकीय गन्तव्यका लागि जाने पर्यटक बसहरु पर्यटक बसपार्कको अभावमा हाल अस्थायीरुपमा सोह्रखुट्टेस्थित सडकलाई पर्यटक बसपार्क बनाउन बाध्य भएका छन् ।     
     
 टुरिस्ट बस एशोसियशन अफ नेपाल ९टिवान०का अध्यक्ष कृष्ण आचार्य पर्यटक बसपार्कका बारेमा लामो समयदेखि आवाज उठाउँदै आए पनि अहिलेसम्म सुनुवाइ हुन नसकेको बताए ।     
     
 “पर्यटक बसपार्क निर्माणका लागि विभिन्न सरोकारवाला निकायलाई सम्भावित स्थानबारे जानकारी गराइसकेका छौँ”, उहाँले भन्नुभयो, “तर उहाँहरुले चासो नदिँदा पर्यटक बसपार्कले मूर्तरुप पाउन सकेको छैन ।” पर्यटक बसपार्क निर्माणका लागि राज्यले कुनै चासो नदिएको उनको भनाइ छ ।     
     
 अध्यक्ष आचार्य पर्यटक बसपार्क लागि छुट्टै ‘पिक एण्ड ड्रप’ नहुँदा पर्यटकले सास्ती खेप्नुपरेको बताउनुहुन्छ । सरकारले पर्यटनमार्फत अर्थतन्त्रलाई सबल बनाउन खोजे पनि यसका लागि पूर्वाधार निर्माणमा ध्यान भने नदिएको उनले अध्यक्ष आचार्यको भनाइ छ ।     
     
 लामो समयसम्म जमलस्थित कान्तिपथ सडकलाई अस्थायी पर्यटक बसपार्कका रुपमा प्रयोग गरिएको थियो । तर विसं २०७५ असार १६ गतेदेखि भने सोह्रखुट्टेको सडकलाई अस्थायी पार्किङस्थल बनाएर पर्यटक ओसार्न थालिएको हो ।     
     
 टिवानका पूर्वमहासचिव दीपक भट्टराई पर्यटन क्षेत्रको विकासका लागि काठमाडौँमा पर्यटक बसपार्क अनिवार्य भएको बताए । छुट्टै बसपार्क नहुँदा गोँगबुस्थित नयाँ बसपार्कबाट समेत पर्यटक बस सञ्चालन गर्न बाध्य भएको उहाँको भनाइ छ ।     
     
 काठमाडौँ महानगरपालिका, ट्राफिक प्रहरीलगायतले कान्तिपथ क्षेत्रमा धेरै भीडभाड हुने भएकाले उक्त क्षेत्रबाट पर्यटकीय बसपार्क हटाएर सोह्रखुट्टे सडकमा सारेका थिए ।     
     
 नेपाल एशोसियशन टुर्स एण्ड ट्राभल एजेन्ट्स नाट्टाका महासचिव कुमारमणि थपलिया पर्यटक बसपार्क निर्माणका लागि नाट्टाले विभिन्न निकायमा पहल गरिरहेको बताए ।  “पर्यटक बसपार्क निर्माणका लागि सम्भावित ठाउँ हेरिरहेका छौँ, सम्बन्धित निकायलाई झक्झकाइरहेका छौँ”, उनले भने, । नाट्टाले पर्यटन विभागसँग पर्यटक बसपार्कका बारेमा छलफल गरिरहेको उनको भनाइ थियो ।     
     
 विश्वका धेरै मुलुकमा पर्यटक बोक्ने सवारीसाधनलाई छुट्टै बसपार्कका रुपमा विकास गरेको पाइन्छ । पर्यटन विभागका इञ्जिनियर बीरेन्द्रप्रसाद चौधरी काठमाडौँभित्र पर्यटक बसपार्क आवश्यक भए पनि जग्गा नहुँदा निर्माणमा ढिलाइ भएको दाबी गरे ।     
     
 हाल काठमाडौँबाट पोखरा र चितवनको सौराहका लागि मात्रै दैनिक झण्डै एक सय वटा पर्यटकीय बस आवतजावत गर्दै आएका छन् भने दैनिक तीन हजारदेखि चार हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकले पर्यटक बसमा यात्रा गर्ने गरेका छन् ।     
     
 व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टेको सडकमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिरेर पार्किङ गर्दै आएका छन् । काठमाडौँबाट विशेष गरी पोखरा, चितवनको सौराहा, लुम्बिनी, जनकपुरलगायतका प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटक बस जाने गरेका छन् ।     
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal