(Thursday , 16 April,2026)

राष्ट्रपतिमा निर्वाचत पौडेलले सोमबार शपथग्रहण गर्ने

mountainejournal.com

mountainejournal.com

काठमाडौं । बिहीबार भएको राष्ट्रपति निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल  मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन् । नौदलीय गठबन्धनको साथ पाएका पौडेलले एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई १८ हजार २ सय ८४ मतभारले पछि पार्दै राष्ट्रपति चुनिएका हुन् । 

तेस्रो राष्ट्रपतिको रूपमा पौडेलले सोमबार शपथग्रहण गर्ने छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार सकिने हुनाले पौडेलले सोमबार शपथग्रहण गर्ने भएका हुन् । 

निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार पौडेललाई प्रतिनिधिसभा र राष्ट्रिय सभाका २ सय १४ तथा प्रदेशसभाका ३ सय ५२ सांसदले मत दिएका थिए । संघ र प्रदेशका ५ सय ६६ सांसदको ३३ हजार ८ सय २ मतभार पौडेलले पाएका हुन् ।  राष्ट्रपति निर्वाचनमा कुल मतभार ५२ हजार ६ सय २८ कायम गरिएको थियो । राष्ट्रपतिमा निर्वाचित हुन ५० प्रतिशत मत कटाए पुग्नेमा पौडेलका पक्षमा ६४.२२ प्रतिशत मत खसेको थियो ।

निर्वाचनमा एमाले उम्मेदवार नेम्वाङलाई संघीय संसद्का ९८ र प्रदेशसभाका १ सय ६२ सांसदले मत दिएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरेका हुन् ।  प्रदेशसभा सदस्यको मतभार ४८ र संघीय सांसदको मतभार ७९ हुन्छ । 

संघीय संसद्का ३ सय ३१ सांसदमध्ये ३ सय १२ र प्रदेशसभाका ५ सय ५० मध्ये ५ सय १८ जनाले भाग लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन आयोगले शुक्रबार ४ बजे निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउँदै छ । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal