काठमाडौं । नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यासम्बन्धी विषयको छानबिनलाई थप प्रभावकारी बनाउने निर्णय गरेका छन् ।
यस्तै, उनले कसैको दबाब र प्रभावमा नपरी शान्ति सुव्यवस्था कायम गर्न दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा साँझ पदभार ग्रहणपछि सञ्चारकर्मीको जिज्ञासामा उहाँले शान्ति सुव्यवस्थाका लागि गृह प्रशासनले निभाउनुपर्ने भूमिकामा सबैभन्दा बढी काम गर्ने बताए ।
विधि र पद्धतिका आधारमा काम गर्ने प्रणाली स्थापित गर्ने जनाउँदै उनले कुनै दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्रीले दिएको निर्देशनप्रति आफू प्रतिबद्ध रहेको बताए । आफूले स्वतन्त्र र स्वायत्तरूपमा कार्यसम्पादन गर्ने उनको भनाइ छ ।
उनले भने, ‘आम नागरिकले शान्ति सुरक्षाको महसुस कत्तिको गरिरहेका छन्, त्यस्ता विषयलाई प्राथमिकतामा राखेर काम गर्छु ।’ आम जनजीविकाका विषय मेरा प्राथमिकतामा छन् ।
गृह प्रशासन मातहतका सङ्गठनको मनोबल उच्च तुल्याउने काममा आफू लाग्ने उनको भनाइ छ ।
आफू सञ्चारकर्मी भूमिकामा रहँदा सबैभन्दा बढी काम गर्नुपर्ने जनचासोका विषय गृह मन्त्रालय पाएको र त्यसमा पहल गर्नुपर्ने भएकाले आफ्नो रोजाइमा गृह मन्त्रालय परेको बताए । आफूले स्वतन्त्ररूपमा कसैलाई विभेद नगरी बराबरी रूपमा कार्यसम्पादन गर्ने अधिकार सबैलाई प्रदान गर्ने बताए ।
हरेक निर्णय स्वतन्त्र र विश्वसनीयरूपमा गरेर प्रशासनका माध्यमबाट जनताका लागि न्याय दिइने उनको प्रतिबद्धता छ ।
साझा नीति तथा कार्यक्रम बनाएर काम गर्ने सम्झौताका आधारमा आफूहरू सरकारमा सहभागी भएको जनाउँदै उहाँले सरकारमा रहेर पनि आम जनताको मुद्दामा वाचापत्रद्वारा प्रतिबद्धता जनाएअनुसार प्रखररूपमा आवाज उठाइरहने बताए । उनलाई मन्त्रालयमा गृहसचिव विनोदप्रकाश सिंह, सुरक्षा निकायका प्रमुखले स्वागत गरेका थिए ।
प्रतिक्रिया