(Monday , 21 April,2025)

हरियो तरकारीमा रोकावट प्रतिशतभन्दा दोब्बर विषादी

mountainejournal.com

mountainejournal.com

काठमाडौं– आम उपभोक्ताको भान्सामा दैनिक भित्रिने हरियो तरकारीमा अत्यधिक विषादी पाइएको छ । काठमाडौंको कालिमाटी तरकारी तथा फलपूmल बजारमा भएको विषादी प्रयोगशालाले सोमबार गरेको नमुना परीक्षणमा ब्रोकाउलीमा रोकावट प्रतिशतभन्दा दोब्बर ८८.६७० प्रतिशत विषादी अवषेश देखिएको हो ।

विषादी प्रयोगशाला प्राविधिक अस्मिता आचार्यका अनुसार भक्तपुरबाट बिक्रीका लागि कालिमाटी बजारमा सोमबार ल्याइएको ब्रोकाउलीमा रोकावट प्रतिशतभन्दा बढी ८८.६७० प्रतिशत अर्गानोफस्फेट नामक विषादीको अवशेष भेटिएको छ । यो भनेको खान अयोग्य स्तरको विषादी हो । भक्तपुरमा उत्पादित यो तरकारी गंगाप्रसाद खरेलले फलाएका हुन् । कालिमाटी बजारको पसल नं. ६४५ बाट सो नमुना लिइएको थियो ।

तरकारी बजारबाट सोमबार लिइएका १८ पसलका १८ थरी तरकारी तथा फलफूलको नमुना परीक्षण गर्दा रोकावट प्रतिशतभन्दा बढी उपभोग अयोग्य विषादी अवषेश ब्रोकाउलीमा भेटिएको आचार्यले जानकारी दिइन् ।

सरकारले रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोग योग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ । यस्तै, ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्तो तरकारी उपभोगका लागि अयोग्य मानिएको छ ।

प्राविधिक आचार्यका अनुसार पछिल्लो एक महिनामा कालिमाटी तरकारी बजारको फलफूल तथा हरियो तरकारीको नमुना परीक्षण गर्दा काउली, काँक्रा, गोलभेंडा, घिरौंला तथा पाकेको फर्सीमा अर्गानोफस्फेट नामक विषादीको अवशेष रोकावट प्रतिशतभन्दा बढी पाइएको छ । विषादी प्रयोगशालाको तथ्यांकअनुसार पछिल्ला दुई महिनामा २३ वटा नमुनामा रोकावट प्रतिशतभन्दा बढी विषादी अवशेष पाइएको छ । लिइएका नमुनामध्ये सबैभन्दा धेरै भक्तपुरको हरियो सागमा विषादी देखिएको छ । अधिकांश नमुनामा अर्गानोफस्फेट देखिएको छ । किसानले धेरै प्रकारका विषादी प्रयोग गर्ने भए पनि हालसम्म नेपालमा दुईवटा विषादी अर्गानोफस्फेट र कार्वामेटको मात्र अवशेष परीक्षण हुने गरेको छ । गत माघ १ गतेदेखि चैत ४ गतेसम्मको विषादी परीक्षण तथ्यांक हेर्दा सबैभन्दा धेरै विषादी साग, काउली, ब्रोकाउली, गोलभेंडा र काँक्रोमा पाइएको छ ।

प्रयोगशालाको रिपोर्टअनुुसार चैत ४ गते १८ वटा नमुना परीक्षण गर्दा ब्रोकाउलीमा रोकावट प्रतिशतभन्दा बढी ८८.६७० प्रतिशत, २ गते १० वटा नमुना परीक्षण गर्दा काँक्रोमा ६५.२३५ प्रतिशत अर्गानोफस्फेट विषादीको अवशेष पाइएको छ । यस्तै, चैत १ गते १२ वटा नमुना परीक्षण गर्दा धादिङबाट ल्याएको घिरौंलामा ६२.३८८ प्रतिशत र भारतबाट आयातित परवलमा ४८.६०५ प्रतिशत विषादी पाइएको थियो । यसैगरी फागुनमा विभिन्न ११ वटा नमुनामा विषादी पाइएको थियो । सबैभन्दा बढी काउली र काँक्रामा विषादी भेटिएको थियो ।

माघमा ८ वटा नमुनामा विषादी अवशेष पाइएको थियो । यसमध्ये ६ वटा विभिन्न सागका नमुना थिए । अधिकांश साग भक्तपुरबाट ल्याइएको थियो । पछिल्लो दुई महिनाको तथ्यांकअनुुसार सागमा रोकावट प्रतिशतभन्दा बढी ८९.०४४ प्रतिशतसम्म विषादी पाइएको छ । असोज र भदौमा पनि रायो सागको नमुनामा क्रमशः ७४.८२ प्रतिशत र ७९.०२ प्रतिशत विषादी अवशेष भेटिएको थियो । भक्तपुर र काभ्रेबाट आएको सागमा विषादी भेटिएको थियो । प्राविधिक आचार्यका अनुसार अहिले दैनिक १० देखि २० वटा तरकारीको नमुनामा विषादी अवशेष परीक्षण हुन्छ । विभिन्न नमुनामध्ये रायो सागमा बढी खान नमिल्ने विषादी भेटिएको छ । यसैगरी काउली र हरियो खुर्सानीमा केही दिन राखेर खान मिल्ने विषादीको अवशेष भेटिएको छ ।

२०७१ असार ४ बाट यस्तो परीक्षण हुँदै आएको छ । केन्द्रीय कृषि प्रयोगशालाका वरिष्ठ बाली विकास अधिकृत मञ्जुश्री अर्याल भट्टराईका अनुसार १२ वटा स्थानमा विषादी परीक्षण हुने गरेको छ । काठमाडौंको कालिमाटी, झापाको बिर्तामोड, सर्लाही, कास्की, बुटवल, नेपालगञ्ज, कैलाली, सुर्खेत, नवलपुर, सुनसरी, धरान, सिन्धुली र धनुषामा तरकारीको विषादी परीक्षण हुने गरेको छ ।

केन्द्रीय प्रयोगशालामा कार्वामेट र अर्गानोफस्फेट समूहका दुईवटा विषादी परीक्षण हुने गरेको छ । नयाँ थप दुईवटा समूहको परीक्षण गर्ने तयारी भइरहेको भट्टराईले जानकारी दिइन् । किसानलाई कृषि बालीमा १ सय ६४ प्रकारका विषादी प्रयोग गर्न अनुमति दिएको सरकारले १२ प्रकारका विषादीको मात्र परीक्षण गर्दै आएको छ ।

किसानले प्रयोग गर्दै आएका १ सय ५२ प्रकारका विषादीको परीक्षण नै भएको छैन । विषादी परीक्षणलाई व्यापक नबनाउँदा उपभोक्ताको भान्सामा विषादीयुक्त खाद्यवस्तु तथा तरकारी र फलफूल पुग्ने गरेको छ । काराेबार दैनिक 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal