(Tuesday , 18 March,2025)

सात खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रियो

mountainejournal.com

mountainejournal.com

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार महँगी ५ प्रतिशत माथि उक्लिएको छ । बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार पुस २०८१ मा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत छ । अघिल्लो वर्ष सोही महिनामा ५.२६ प्रतिशत थियो । पुसमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.६७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१९ प्रतिशत छ ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष मुद्रास्फीति बढेको छ । पुस २०८० मा खाद्य तथा पेय पदार्थमा ५.७५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहमा ४.९३ प्रतिशत मुद्राीफीति थियो । पुसमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २८.५२ प्रतिशत, घिउ तथा तेल १०.६७ प्रतिशत, दाल तथा गेडागुडी ९.४८ र खाद्य तथा खाद्यजन्य पदार्थको ७.२३ प्रतिशतले बढेको छ ।

त्यस्तै मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.१२ प्रतिशतले घटेको राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ९.३५ प्रतिशत, मदिराजन्य पेय पदार्थको ७.०१, कपडाजन्य तथा जुत्ताचप्पल ६.७५ र फर्निसिङ तथा घरायसी उपकरणको ५.२९ प्रतिशतले बढेको छ ।

यस्तै, बैंकले सार्वजनिक गरेको विवरण अनुसार ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.६८ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.३१ प्रतिशत बढेको छ । प्रदेशगत हेर्दा मूल्यवृद्धि सबैभन्दा धेरै कोशीमा छ । पुसमा कोशीको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.७३ प्रतिशत छ ।

यस्तै मधेशको ५.९६ प्रतिशत, बागमती ५.१४, गण्डकी ४.३७, लुम्बिनी ४.८३, कर्णाली ४.६० र सुदूरपश्चिम प्रदेशको ५.६७ प्रतिशत छ । काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०३ प्रतिशत, तराई ५.६०, पहाड ५.४१ र हिमालको ५.२७ प्रतिशत छ । साथै, पुसमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.०१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही महिना मुद्रास्फीति ३.३६ प्रतिशत थियो ।

पुसमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमश: ६.९२, २.५५ र ३.१४ प्रतिशत छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ४.२८ प्रतिशत घटेको छ । यसैगरी साउनदेखि पुससम्मको आर्थिक तथा वित्तीय अवस्थाको रिपोर्टअनुसार ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

यो गएको आर्थिक वर्षको भन्दा ४ दशमलव १ प्रतिशतले धेरै हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ दशमलव १ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड डलर पुगेको छ । यस्तै ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ९३ हजार जना रहेको छ । अघिल्लो वर्षको ६ महिनामा ३ लाख ४० हजार जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal