काठमाडौँ । पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटाद्धारा लिखित र साग्रिला बुक्सद्धारा प्रकाशित खुसीको गोरेटो नामक पुस्तक सार्वजनिक भएको छ । शुक्रबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी पुस्तकको लोकापर्ण पूर्व मुख्यसचिव डा. बिमल कोईराला, जीवन विज्ञानका प्रमुख एलपी भानु शर्मा र बरिष्ठ संचारकर्मी बबिता बस्नेतद्धारा संयुक्तरुपमा सार्वजनिक गरेको हो ।
पुस्तकका लेखक बास्कोटाले यो संसारमा प्रत्येक मानिस सुखी हुन खोज्छ, खुसी हुन चाहन्छ । तैपनि मानिस दुःखी छ । यसर्थ, खुसी हुने कलाका बारेमा पुस्तक लेख्न ईच्छा जागृत भएको कुरा बताए । उनले भने,‘ संसारमा सुखी मानिस ती होइनन्, जसले धेरै पाएका छन् । सुखी मानिस त ती हुन्, जसले अरुलाई दिएका छन् ।
पुस्तकमा शिष्ट, सुशील र नरम शब्दमा बोल्न सुझाईएको छ, जसले हामीलाई खुसी बनाउछ । अँध्यारोले अँध्यारो धपाउन सक्दैन । प्रकाशले सक्छ । घृणाले घृणा हटाउन सक्दैन । प्रेमले सक्छ । यसर्थ, आदर चाहनेले पहिले अर्कालाई आदर गर्नुपर्छ । मान्छेको गुण मृदुभाषी हुनु हो, पुस्तकमा लेखिएको छ ।
खुसीको गोरेटो पुस्तकले असफलताको बारेमा चिन्ता होइन, बरु आफूले प्रयास नगर्दा छुट्ने अवसरका बारेमा चिन्ता गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको छ । साथै, खुसी हुने बानी परेपछि दुःखी हुन बिर्सिइन्छ । ज्ञानी भएपछि चाहेर पनि अज्ञानी हुन सकिन्न भन्ने तथ्य उजागर गरेको छ । लेखक बास्कोटा भने, ‘जहाँ बुद्धिमान् हुन्छन्, त्यहाँ संवाद हुन्छ । जहाँ मूर्ख हुन्छन्, त्यहाँ विवाद हुन्छ । सकारात्मक सोचले विश्वास, प्रेम, शान्ति, उत्साह, प्रेरणा, आनन्द, सिर्जनशीलता आदि जागृत गर्न मद्दत गर्छ ।
नकारात्मक सोचले दुःख, बेइमानी, स्वार्थ, चिन्ता, निराशा, लोभ, संशय, अनिश्चितता, छटपटी, उदासिनता, एकलकाटेपनको विकासलगायत अवनतिको मार्गमा लैजान्छ । यसर्थ, जीवन एक पाठशाला हो । समयले सधैँ सिकाइरहन्छ, हामी पढिरहन्छौँ । नबिर्सौं, मानिस समयको दास हो ।निरन्तर सिकीरहनुको बिकल्प नभएको पुस्तकको सन्देश हो । पुस्तक लोकार्पण समारोहका प्रमुख अतिथि एवं पूर्वमुख्य सचिव डा. बिमल कोईरालाले खुसीबाटै सफलता हासिल हुने कुरा बताए । साथै, उनले ज्ञानको स्रोत अनुभव र प्रयोग हो, पुस्तकमा लेखकले यस्को भरपुर उपयोग गरेको टिप्पणी गरे ।
पुस्तकको भाषा र सरल र मर्मस्पर्सी रहेको थियो । पुस्तकका टिप्पणीकर्ता एवं जीवन विज्ञानका विशेषज्ञ एलपी भानु शर्माले सुख, खुसी र आनन्दका तीन अबस्थामाथि पुस्तक तयार भएको बताए । साथै, उनले यस पुस्तकले कसैको पनि अपमान नगरी समाजको गलत भाष्य चिर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । साथै, पुस्तकका अर्का टिप्पणीकर्ता एवं बरिष्ठ संचारकर्मी बबिता बस्नेतले यो पुस्तकले युवा पुस्ताका लागि विशेष सन्देश दिएकोमा खुसी व्यक्त गरे । साथै, उनले पुस्तक हामी सबैले भोगिरहेको दैनिक जीवनी वरिपरी घुमिरहेकाले सबैका लागि पठनीय र संग्रहणीय रहेको बताए ।
कार्यक्रम संचालक बरिष्ठ संचारकर्मी रोहित भण्डारीले पुस्तकले विशेषगरी सेवाप्रवाह गर्ने राष्ट्र्सेवक कर्मचारीहरुलाई सकारात्मक भै सेवा प्रवाह गर्न सन्देश दिएको विचार व्यक्त गरे । साग्रिला प्रकाशनका निर्देशक मदन खनालले लेखकका कृतिहरु प्र्रकाशन गर्न पाउदा हामी गौरवान्वित र खुसी हुने कुरा बताए ।
प्रतिक्रिया