(Thursday , 03 October,2024)

अत्यावश्यक वस्तु १५ दिनलाई मौज्दात, तरकारी महँगियो

mountainejournal.com

mountainejournal.com

काठमाडौं । बाढी र पहिरोका कारण राजधानी काठमाडौं जोड्ने सबै सडक मार्ग अवरुद्ध भए पनि तत्काल अत्यावश्यक वस्तुहरुको अभाव नहुने बताइएको छ । चाडपर्वको मुखमा खाद्यान्न अभाव हुने त्रासदीका बीच व्यवसायी र सरकारी अधिकारीहरुले अभाव नहुने बताएका हुन् । निरन्तरको वर्षा, सडक अवरोध र डुबानका कारण आपूर्तिमा समस्या आए पनि पर्याप्त मौज्दात रहेकाले अभाव नहुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ ।

मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीका अनुसार आइतबार यस विषयमा मन्त्रालयले सरोकारवालाहरुसँग छलफल गरेको छ । ‘उद्योगी–व्यवसायीले दिएको जानकारीअनुसार १०–१५ दिनलाई सबै अत्यावश्यक वस्तुको बजारमा मौज्दात छ । पेट्रोलियम पदार्थदेखि खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तु बजारमा पर्याप्त रुपमा आपूर्ति भइरहेको छ ।

मौसममा सुधार आएको हुँदा अवरुद्ध सडक खुलाउने काम कार्य भइरहेको छ । केही दिनमै सडक सञ्चालनमा आएपछि खाद्य आपूर्ति फेरि सहज हुन्छ । खाद्य आपूर्तिको च्यानलमा समस्या हुँदैन,’ उनले भने । उद्योगी–व्यवसायीहरुलाई मन्त्रालयमा बोलाएर अत्यावश्यक वस्तुको आपूर्तिमा कमी नगर्न भनिएको उनले जानकारी दिए ।

अधिकारीले भने, ‘विपत्को अवस्थामा संवेदनशिल भएर व्यापार–व्यवसाय गर्न निर्देशन दिएका छौं ।’ बजारमा केकति खाद्यान्न छ भन्ने यकिन तथ्यांक मन्त्रालयसँग नभए पनि निजी क्षेत्रले जानकारी गराएअनुसार १०–१५ दिनलाई पुग्ने खाद्यान्न तथा अन्य अत्याश्वयक वस्तु मौज्दात रहेको उनले बताए । बाढीपहिरोको बहाना बनाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने वा मूल्य बढाउनेलाई कारबाही गरिने उनले प्रष्ट पारे । ‘बजारमा खाद्यान्नको कृत्रिम अभाव हुन नदिन सरकारले निरन्तर अनुगमन गर्छ । कुनै पनि बहाना बनाएर सामान लुकाउने वा मूल्य बढी लिनेलाई कानुनको दायरामा ल्याइन्छ,’ उनले भने ।

नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले निरन्तर वर्षाका बाबजुद उपत्यकामा खाद्यान्न आपूर्तिमा समस्या नहुने बताए । वर्षाले खाद्यान्न भण्डारण डुबानमा परी अर्बौंको क्षति भए पनि चाडपर्वलाई पुग्ने गरी बजारमा पर्याप्त खाद्यान्न भएको उनले जानकारी दिए । ‘बजारमा पर्याप्त रुपमा दाल, चामल, गडागुडी, तेल आदि मौज्दात छ । खाद्य वस्तुको मूल्यमा पनि कुनै परिवर्तन हुँदैन । केही समयअघि भारतमा कच्चा तेलको मूल्य वृद्धि हुँदा यता पनि बढेको थियो । अब त्यो मूल्य पनि विस्तारै घट्छ,’ श्रेष्ठले भने ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार खाद्य कम्पनीसँग हाल १० लाख ४ हजार ४ सय ७३ क्विन्टल चामल मौज्दात छ । यस्तै, दाल ९० क्विन्टल छ भने तेल १ हजार ४३० लिटर छ । ९० हजार ४ सय ३१ क्विन्टल चामलका लागि बोलपत्र भइसकेको छ र त्यो आउने क्रममा छ ।

हरियो तरकारीको मूल्य अकासियो
तीन दिनसम्म परेको निरन्तरको वर्षाका कारण बाढीपहिरोले सडक अवरुद्ध हुँदा यसको असर तरकारीको मूल्यमा परेको छ । देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा तरकारीको भाउ अकासिएको छ ।

उपत्यका बाहिरबाट भित्रिने हरियो तरकारीको आपूर्तिमा कमी आएपछि एक दिनमै मूल्य बढेको हो । किसानले उत्पादन गरेको तरकारी सहज रुपमा काठमाडौं भित्र्याउन नपाउँदा मूल्य अत्यधिक वृद्धि भएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार एक दिनमा सानो लोकल गोलभेंडाको मूल्य १४१.९४ प्रतिशतले वृद्धि भएको छ । शनिबार थोकमा प्रतिकिलो ३१ रुपैयाँमा बिक्री भएको सानो गोलभेंडा आइतबार १३ गते ७५ रुपैयाँ पुगेको छ । यसैगरी आलु, गाँजर, लोकल बन्दा र तराईको बन्दा, काउली, तोरीको साग, बोडी, भिन्डी, सिमी, लौका, करेलाको मूल्य पनि बढेको छ ।

तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले निरन्तर वर्षाका कारण एक दिनमै सबै हरियो तरकारीको मूल्य वृद्धि भएको जानकारी दिए । बाढीपहिरोले सडक अरोध भएपछि बजारमा तरकारी अभाव हुँदा मूल्य वृद्धि भएको उनले बताए । ‘बजारमा हरियो तरकारी नै कम आएको छ । तरकारीका गाडी बाटोमा रोकिएका छन् । आपूर्ति बढेपछि फेरि पुरानै अवस्थामा आइहाल्छ,’ उनले भने ।

राजधानीमा शनिबार एक सय ५६ टन फलफूल तथा तरकारी भित्रिएको थियो । आइतबार भने ३८ टनमात्र फलफूल र तरकारी भित्रिएको श्रेष्ठले जानकारी दिए । सामान्य अवस्थामा राजधानीमा ६ सयदेखि सात सय टनसम्म फलफूल तथा तरकारी भित्रिने गरेको छ । पूर्वी एवं मध्य नेपालमा पछिल्लो तीन दिनसम्म परेको भारी वर्षासँगैको बाढी र पहिरोले मुख्य सडक अवरुद्ध भएकाले कम फलफूल तथा तरकारी भित्रिएको हो । थोरै सामान भित्रिएपछि फलफूल र तरकारीको मूल्य सतप्रतिशतसम्म बढेको छ ।

राजधानीमा छिमेकी जिल्लाहरु धादिङ, काभ्रे, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोकका साथै मधेश प्रदेशका केही जिल्ला तथा भारतबाट पनि फलफूल तथा तरकारी आउने गरेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal