(Thursday , 03 October,2024)

सर्वसाधारणले दसैंमा यात्राको तयारी गर्न पाएनन्

mountainejournal.com

mountainejournal.com

काठमाडौँ  । दसैं मुखमुख आइसक्यो । बजारमा चलहपहल पनि उत्तिकै छ । कतै दसैंको किनमेल त कतै सिँगारपटारका सामग्री । कोसेली लगिदिनेदेखि नयाँनयाँ लुगा किन्नेहरुले बजारलाई गुलजार बनाइरहेका छन् । तर तिनैमध्ये धेरै यस्ता यात्रु छन्, जसलाई दसैंमा उपत्यका छाडेर घर जानुपर्नेछ । उनीहरुले अरु सबैजसो तयारी गरिरहे पनि दसैंलाई अग्रिम टिकट लिन पाएका छैनन् ।

यातायात व्यवस्था विभागको समन्वयमा आधिकारिक रूपमा बसको अग्रिम टिकट बुकिङ खुल्न नसक्दा उनीहरुले टिकट नपाएका हुन् । उनीहरुको एउटै चिन्ता छ— भनेको बेला अग्रिम टिकट पाइएन भने कतै घर जान नपाइने पो हो कि !

केही यातायात व्यवसायीसम्बद्ध संस्थाले भने आफ्नै हिसाबले बुकिङ गर्न थालेका छन् । जसले गर्दा टिकट काउन्टरहरुमा सर्वसाधारणको भीड लाग्न थालेको छ । दसैंका बेला २० लाख हाराहारी सर्वसाधारण उपत्यकाबाट बाहिरिन्छन् । यसअघिका वर्षमा अग्रिम बुकिङ खुलेपछि यात्रुको चाप हुने ठाउँमा यात्रु सहायता कक्ष राखेर प्रहरी र यातायातका कर्मचारीले टिकट बुकिङमा सहजीकरण गर्ने गरिएको थियो ।

टिकट बिक्रीमा कालोबजारी गरेको पाइए नियन्त्रणमा लिएर कारबाही गर्ने गरिएको थियो । तर अग्रिम बुकिङ नखुल्दा यात्रु सहायता कक्ष पनि स्थापना हुन सकेका छैनन् । यही बेला अग्रिम बुकिङ खोल्नुअघि सडक पूर्वाधार चुस्त बनाउनुपर्ने अडानमा यातायात व्यवसायी छन् । सरकारी संयन्त्र भने मनसुन सक्रिय भइरहेकाले सडक पूर्वाधार सहज बनाउन समस्या भइरहेको बताउँदै आएको छ ।

गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको उपस्थितिमा मन्त्रालयमा यातायात व्यवसायीसहित भएको छलफलमा यातायात व्यवस्था विभागसँग बसेर छलफल गरी अग्रिम बुकिङ खोल्ने मिति टुंगो लगाउने निर्णय भएको थियो । तर अहिलेसम्म विभागसँग कुनै छलफल भएको छैन ।

एक–दुई यातायात व्यवसायीले सरकारको निर्णय नपर्खी आफ्नै हिसाबले अग्रिम बुकिङ खुला गरेका छन् । अहिलेसम्म पूर्व अरनिको यातायात प्रालि र पृथ्वी राजमार्ग यातायातले अग्रिम बुकिङ खुलाएका हुन् । शनिबार भएको छलफलका क्रममा घटस्थापनाअघि नै देशभरका सबै सडक मर्मतसम्भार गरी यातायात सञ्चालनमा सहजता ल्याउन भौतिक मन्त्री दाहालले सडक विभागलाई निर्देशन दिएका थिए । मन्त्रालयमा यातायात व्यवसायीको उपस्थितिमा दसैं, तिहार र छठमा यातायातलाई कसरी सहज गर्ने भन्नेबारे भएको छलफलबाट सातबुँदे सहमति गरिएको थियो ।

सहमतिअनुसार यात्रुको यात्रा सुनिश्चित गर्न यातायात व्यवस्था विभागसँग छलफल गरी शीघ्र अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएको थियो । तर यहीबीचमा विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको सरुवा गरिएपछि यसबारे छलफल हुन सकेन । जसले गर्दा निर्णय गर्न ढिलाइ भएको हो । नयाँ महानिर्देशकले जिम्मेवारी सम्हाल्न समय लागेपछि व्यवसायी र विभागबीच छलफल हुन सकेको छैन ।

छलफलमा व्यवसायीले भाडा समायोजनको कुरा अघि सारेका थिए । इन्धनको मूल्यबाहेक अन्य कारणले गर्नुपर्ने समायोजन विगत तीन वर्षदेखि नभएको भन्दै आवश्यक तयारी गरी छठपछि भाडादर समायोजन गर्न यायाताय व्यवस्था विभागलाई निर्देशन दिने निर्णय गरिएको थियो । सडक पूर्वाधार सहज नबनाए यात्रुलाई गन्तव्यसम्म लैजान र समयमै पुर्‍याउन कठिन हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जनाए । ‘अग्रिम टिकट बुकिङ खुलाउने विषयमा हाम्रो पक्षबाट कुनै ढिलाइ भएको छैन,’ उनले भने, ‘तर बुकिङ खुलाउनुअघि सडक पूर्वाधार सहज बनाउनैपर्छ ।’

अहिलेसम्म अग्रिम बुकिङ खोल्नेबारे छलफल नभए पनि विभागले मंगलबार दिउँसो ३ बजेलाई बैठक बोलाएको सिटौलाले सुनाए । ‘सम्भवतः अग्रिम टिकट बुकिङ खोल्नेबारे निर्णय हुन्छ,’ उनले भने । घटस्थापनाको एक साताअघि बुकिङ खुला गर्दा पनि समस्या नहुने उनको भनाइ छ ।

यातायात व्यवस्था विभागको महानिर्देशकका रुपमा राजीव पोखरेलले जिम्मेवारी सम्हालिसकेको हुँदा छिट्टै नै अग्रिम टिकट बुकिङ खोल्नेबारे निर्णय हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता एवं सहसचिव सुशीलबाबु ढकालले बताए । ‘कुन दिनदेखि अग्रिम टिकट बुकिङ खोल्ने भन्ने विषयमा आजभोलिमै निर्णय हुन्छ,’ ढकालले भने, ‘देशभर सडक पूर्वाधार घटस्थापनाअघि सुधार गर्न भनिसकिएकाले धमाधम काम भइरहेको छ ।’ राजमार्गका खाल्डाखुल्डी टाल्ने काम पनि भइरहेको उनले जनाए ।

‘सडक मर्मतको काम भइरहेको छ,’ उनले भने, ‘पानी नपरे मर्मतमा कुनै समस्या हुँदैन, तोकिएको समयमा मर्मतको काम सकेर यात्रा सहज बनाउँछौं ।’ अहिले बढी समस्या नारायणगढ–बुटवल सडकमा छ । ठेकेदारले काम नगर्दा निर्माणले गति लिन सकेको छैन । हिलो र खाल्डाखुल्डीले गर्दा यात्रुले कष्ट खेप्नुपरेको छ । निर्माण थालेको ६ वर्ष भयो, अहिलेसम्म तेस्रो पटक म्याद थप भइसकेको छ । प्रगति ५२.७ प्रतिशत मात्र छ । बर्खा लागेदेखि खासै काम हुन सकेको छैन ।

यो सडकको काम सुस्त गतिमा भएकाले यात्रुले गत वर्षजस्तै यो वर्षको दसैंमा पनि सास्ती खेप्नुपर्ने बाध्यता छ । त्यस्तै नागढुंगा–मुग्लिन र मुग्लिन–पोखरा सडक खण्डमा पनि समस्या छ । मध्यपहाडी, मदनभण्डारी, हुलाकी, बीपी राजमार्गको विभिन्न खण्डमा पहिरो र खाल्डाखुल्डीको समस्या धेरै छ । ‘अहिले देशभरकै सडकहरुको मर्मतसम्भारको काम भइरहेको छ,’ ढकालले भने, ‘पानी परेर समस्या नभए घटस्थापनासम्म सबै सडक सहज बनाउने लक्ष्य छ ।’ कान्तिपुर 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal