काठमाडौ । चाडपर्व लक्षित सहुलियत पसल असोज ३ (आज) देखि सञ्चालन हुने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले संविधान दिवसको अवसर पारेर सहुलियत पसल सञ्चालन गर्ने भएको हो । यसअघि असोज सात गतेबाट पसल सञ्चालन गर्ने निर्णय सरकारले गरेको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले पहिले असोज सातदेखि सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरिए पनि संविधान दिवसको अवसर पारेर तीनदेखि सात गतेसम्म सबै स्थानमा पसल सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए ।
खाद्यको प्रदेश कार्यालय थापाथलीबाट बिहीबार यस वर्षको चाडपर्व लक्षित सुपथ मूल्य पसल औपचारिक रुपमा सञ्चालन हुने उनले बताए । खाद्य व्यापार कम्पनीले ४२ जिल्लाका विभिन्न ६२ स्थानमा सहुलियत पसल सञ्चालन गर्नेछ । सरकारको पूर्ण स्वामित्वमा रहेको कम्पनीले असोज ३ देखि सुरु गरेर माघ २ गतेसम्म सहुलियत पसल सञ्चालन गर्नेछ ।
साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानले भने पहिलेको निर्णयअनुसार असोज सातदेखि नै सहुलियत पसल सञ्चालन गर्ने भएका छन् । संस्थानका निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले सरकारको निर्णयअनुसार असोज सातदेखि नै संस्थानले दूग्धजन्य वस्तु पाइने सहुलियत पसल सञ्चालन हुने जानकारी दिए ।
चाडपर्वको समयमा खाद्य कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानमार्फत सहुलियत पसल सञ्चालन हुँदै आएका छन् । यस्ता पसल दशैं, तिहार र छठ पर्वसम्म सञ्चालन हुनेछन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार खाद्य कम्पनीले सहुलियत पसलमा सबैखाले चामल र दालमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएको छ । यसैगरी पिठो, मैदा, तेल, चिनी र चिउरामा प्रतिकिलो ७ रुपैयाँ, कर्णालीको सिमी, गेडागुडी, दाल, चिनो, कागुनो र उवालगायत रैथाने बालीमा प्रतिकिलो ७ रुपैयाँ छुट दिइएको छ । जिउँदो खसीबोका र डीडीसीका उत्पादनमा १० रुपैयाँ प्रतिकिलो छुट पाइनेछ ।
चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनका लागि सरकारले खाद्य कम्पनीलाई ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चामल, दाल, तेल, कर्णालीको गेडागुडी, खसीबोका र च्यांग्रामा छुट दिन कम्पनीलाई शोधभर्नाका लागि यो बजेट विनियोजन गरिएको हो ।
यसैगरी दशैंमा खसीबोका र च्यांग्रा खरिदका लागि कम्पनीले करिब ४ करोड बजेट छुट्याएको छ । कम्पनीले यस वर्षको दशैंमा १ हजार ८ सय वटा खसीबोका र च्यांग्रा खरिद गर्ने निर्णय गरेको छ । यसमा १ हजार ५ सय खसीबोका र ३ सय च्यांग्रा हुनेछन् ।
मन्त्रालयको निर्देशनअनुसार खाद्य कम्पनीले यो दशैंमा देशभर ४२ वटा जिल्लामा ६३ वटा स्थानमा सहुलियत पसल सञ्चालन गर्नेछ । काठमाडौं उपत्यकाका चार स्थानमा यस्ता पसल हुनेछन् । यसैगरी कम्पनीले अनलाइनमार्फत पनि उपभोक्ताको मागअनुसार खाद्य सामग्री घरघरमा पुर्याउनेछ । यसका लागि ५ हजार रुपैयाँसम्मको सामान अर्डर गर्नु पर्नेछ ।
यसैगरी साल्ट ट्रेडिङले सरकारको निर्णयअनुसार विभिन्न खाद्य सामग्री ५ देखि ७ रुपैयाँसम्म छुटमा बिक्री गर्नेछ । दुग्ध विकास संस्थानले घिउ र पनिरमा छुट दिने गरेको छ । गत वर्ष खाद्य व्यापार कम्पनीले फापर, भटमासको तेल, चामल र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिएको थियो । यसैगरी पिठो, चिउरा, तोरीको तेल, सनफ्लावरको तेल र दालमा ५ रुपैयाँ छुट दिइएको थियो । दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो ५० रुपैयाँ र पनिरमा २० रुपैयाँ छुट दिएको थियो । साल्ट ट्रेडिङले चिनीमा ५ रुपैयाँ र नुनमा २ रुपैयाँ छुट दिने गरेको थियो
खाद्य व्यवस्था कम्पनी
– असोज ३ देखि माघ २ गतेसम्म ४२ जिल्लाका ६३ स्थानमा पसल
– काटमाडौं उपत्यकामा थापाथली, नख्खु र सूर्यविनायक
– अनलाइन अर्डरमा होम डेलिभरी
साल्ट ट्रेडिङ
– काठमाडौं उपत्यकामा सतुंगल, कालिमाटी, पाटन, कोटेश्वर, बालकुमारी, भक्तपुर, लगनखेल, कौशलटार र सिफलमा पस
– उपत्यकाबाहिर कम्पनीको शाखा कार्यालय र स्थानीय सरकारको मागअनुसार
दशैंको टिकट बुकिङ खुलाउन छलफल
दशैं लक्षित सार्वजनिक यातायातको अग्रिम टिकट खुलाउने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अग्रसरता लिएको छ । चाडपर्वको समयमा ठूलो संख्यामा यात्रुहरु काठमाडौंबाट बाहिरिने र केही दिन लगत्तै फर्किने भएकाले त्यस्तो समयमा सार्वजनिक यातायात सहज बनाउन मन्त्रीको अग्रसरतामा छलफल भएको हो ।
बुधबार मन्त्रालयमा आयोजित सरोकारवालाको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रत्येक यात्रुलाई सुरक्षित रुपमा घर पु–याउने व्यवस्था मिलाउन निर्देशन दिए । सुरक्षित यात्राका लागि सडक सुरक्षा तथा यात्रुको सुविधामा ध्यान दिन उनले निर्देशन दिए । चाडपर्वलाई दुर्घटना रहित बनाउन सडक मर्मतलाई अहिले मुख्य प्राथमिकतामा राखिएको उनले जानकारी दिए । टिकट काउण्टर, बसपार्क, राजमार्ग तथा बस बिसौनीमा सुरक्षा प्रबन्ध दर्बिलो बनाउन प्रहरी प्रशासनसँग समन्वय गरिएको भन्दै मन्त्री दाहालले भय, त्रास र ठगी रहित यात्राको प्रबन्ध मिलाउन सम्वद्ध सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिए ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले हाल निर्माणाधीन सडकमा खाल्डा पुर्ने, सम्याउने, सुरक्षा प्रबन्ध गर्नेलगायत काम भइरहेको बताए । विशेष परिस्थितिबाहेक दुई घण्टाभन्दा बढी सडक जाम हुन नदिइएको जानकारी उनले दिए । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले सडक सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिइएको बताए ।
प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले चाडपर्वलाई लक्षित गरी सुरक्षाकर्मी परिचालनलाई सुदृढ पारिएको, आवश्यक स्थानमा जाँचको व्यवस्था मिलाइएको र बढी यात्रुको चाप हुने ठाउँमा सुरक्षा प्रबन्ध मिलाइएको बताए । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँरलगायत व्यवसायीले सरकारसँग विगतमा भएको सहमति कार्यान्वयनमा जोड दिए ।
प्रतिक्रिया