(Thursday , 03 October,2024)

दुई महिनामा थपियो १ खर्ब २९ अर्ब ऋण

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । पछिल्ला वर्षहरुमा सार्वजनिक ऋणको आकार उच्च दरले वृद्धि भइरहेको छ । चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ) मा मात्र सार्वजनिक ऋण एक खर्ब २९ अर्ब रुपैयाँ थपिएको छ । योसँगै कुल सार्वजनिक ऋण २५ खर्ब ६१ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आवको सुरुमा कुल सार्वजनिक ऋणको आकार २४ खर्ब ३१ अर्ब ३३ करोड रुपैयाँ थियो । साउन र भदौ दुई महिनामा १ खर्ब २९ खर्ब ७० करोड रुपैयाँ थप भई ऋणको आकार २५ खर्ब ६१ अर्ब ३ करोड रुपैयाँ पुगेको हो ।

साउनमा आन्तरिक ऋण १ खर्ब २५ अर्ब रुपैयाँ उठाइएको छ भने बाह्य ऋण ३ अर्ब ५९ करोड रुपैयाँ थप भएको हो । तत्कालिन अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । बजेटमा ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखिएको छ । यसमध्ये ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य छ भने २ खर्ब १७ अर्ब रुपैयाँ बाह्य ऋण उठाउने लक्ष्य राखिएको छ ।

साउन र भदौ २६ सम्ममा आन्तरिक ऋण १ खर्ब २५ अर्ब उठेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव प्रकाश पुडासैनीले जानकारी दिए । उनका अनुसार साउनमा आन्तरिक ऋण ४० अर्ब रुपैयाँ थियो । भदौमा थप ८५ अर्ब रुपैयाँ उठेर चालु आवको दुई महिनामा आन्तरिक ऋण १ खर्ब २५ अर्ब रुपैयाँ पुगेको पुडासैनीले जानकारी दिए । बाह्य ऋण साउनसम्म ३ खर्ब ५९ करोड रुपैयाँ प्राप्त भएको छ ।

बाह्य ऋण प्राप्ति चालु आवको सुरुवातमा कम नै भए पनि विस्तारै बढ्दै जाने उपसचिव पुडासैनीको भनाइ छ । साउन र भदौ २६ सम्म सार्वजनिक ऋणको साँवा र ब्याज ५७ अर्ब ४५ करोड रुपैयाँ भुक्तानी भएको छ । हाल औषत वैदेशिक ऋणको ब्याज १.५ प्रतिशतका दरले तिर्नुपर्छ भने आन्तरिक ऋणको ब्याज ५.६ प्रतिशत छ । कुल सार्वजनिक ऋणमध्ये आन्तरिक १२ खर्ब १ अर्ब २४ करोड रुपैयाँ र बाह्य १२ खर्ब ६८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । कुल गार्हस्थ्य उत्पादनको आधारमा सार्वजनिक ऋणको हिस्सा ४३.३४ प्रतिशत पुगेको छ । सार्वजनिक ऋणमध्ये आन्तरिकको कुल गार्हस्थ्य उत्पादनका आधारमा २१.१० प्रतिशत हो । यस्तै बाह्य ऋण दायित्व २२.२४ प्रतिशत पुगेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal