(Thursday , 03 October,2024)

अघिल्लो वर्षको तुलनामा करिव ४० प्रतिशतले बढ्याे व्यापार

mountainejournal.com

mountainejournal.com

काठमाडाैँ । नेपालमा निजी सार्वजनिक साझेदारी संस्थाका रुपमा स्थापित साल्ट ट्रेडिङ कर्पोरेशनले आज (बिहीबार) विभिन्न कार्यक्रमका साथ ६२औं वार्षिकोत्सव मनाउँदैछ । मुख्य रुपमा नुनको कारोबार व्यवस्थित गर्ने उद्देश्यले २०२० मा यो संस्था स्थापना भएको हो । संस्थामा सरकार र निजी क्षेत्र दुवैको लगानी छ ।

व्यापारिक कारोबारका साथै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत संस्था सक्रिय छ । वार्षिकोत्सवका अवसरमा संस्थाले विभिन्न किसिमका कार्यक्रम गरेको छ । देशभरी अत्यावश्यक दैनिक उपभोग्य वस्तु नुन आपूर्ति व्यवस्थित र नियमित गर्न यो संस्था स्थापना भएको थियो । आफ्नो उद्देश्यमा संस्था खरो रुपमा उत्रेका कारण सफल बनेको छ ।

यो संस्था तत्कालीन राजा महेन्द्रका पालामा स्थापना भएको हो । यसमा सरकारको २१.२६ प्रतिशत सेयर छ भने बाँकी ७८.७४ प्रतिशत सर्वसाधारणको छ । सुरुमा नौ जना सेयरधनीसहित सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलअन्तर्गत संस्था सुरु भएको थियो । दुई कोठा लिएर इन्द्रचोकमा यसको कार्यालय खुलेको हो । अहिले संस्था देशभर फैलिएको छ ।

सरकारले बनाएका नीति नियमभित्र रही कर्पोरेशनले अत्यावश्यकीय वस्तुलगायतका सामग्री देशभर वितरण गर्ने काममा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ । मुलुक संघीयतामा गएपछिको परिवर्तित राजनीतिक परिवेशमा सबै प्रदेशलाई परिलक्षित गरी संस्थाले आफ्नो कार्यक्षेत्र र सेवा बिस्तार गर्दै आएको छ । आर्थिक रुपमा समृद्ध नेपालको अवधारणालाई सघाउ पुर्‍याउने नीति संस्थाले लिएको छ ।

देशको अर्थतन्त्रमा कृषिको महत्त्व अंगीकार गर्दै वर्तमान सन्दर्भमा कर्पोरेशनले कृषि विकासमा योगदान पुर्‍याउने उद्देश्य अनुसार अनुदानित मलका अतिरिक्त आफ्नै तर्फबाट समेत गैर अनुदानित मल आयात गरी बिक्री वितरण गर्दै आएको छ । यसका लागि विराटनगरस्थित मोरङ सुगर मिल्समा कृषि औजार खरीद गरी उखु खेतीलगायत अन्य खेतीमा आधुनिकीकरण गरिएको छ ।

रासायनिक मलका अतिरिक्त गहुँको बीउ प्रशोधन गरी किसान समक्ष पुर्‍याएको छ । संस्थाले गत वर्ष १३ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ । यो कारोबार रकम अघिल्लो वर्षको तुलनामा करिव ४० प्रतिशतले बढेको हो । कम्पनीमा कार्यरत कर्मचारी र नेतृत्व गर्नेहरुको अथक परिश्रमबाट यो सफलता मिलेको हो ।

कम्पनीका अध्यक्ष प्रदिपलाल श्रेष्ठले आगामी दिनमा कारोबारलाई झनै उचाइमा पुर्‍याउने लक्ष्य राखिएको बताए । आम सर्वसाधारणसम्म कसरी सर्वसुलभ हिसावले सामग्री पुर्‍याउने भन्ने कम्पनीको एक मात्र उद्देश्य रहेको उनको भनाइ छ । कम्पनीले आगामी दिनमा आफ्नो कारोबारमा थप विविधिकरण गर्ने योजना बनाएको छ । संस्थाको सञ्जाल अझ विस्तार गरिने छ । यस्तै सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि कम्पनीले सक्दो सहयोग गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

नुन कारोबार
संस्थाको स्थापना नै मुख्य रुपमा नुन कारोबारका लागि भएको थियो । नेपालभर सर्वसुलभ र सुपथ मूल्यमा नुनको आपूर्ति गर्ने जिम्मेवारी सरकारले यो संस्थालाई दिएको छ । अहिलेसम्म आफ्नो जिम्मेवारीमा संस्था खरो रुपमा उत्रेको देखिन्छ । त्यसैले अहिलेसम्म नुन अभाव भएको भन्ने आवाज विरलै सुनिन आएको छ । पछिल्ला दिनमा नुनको व्यापार खुला हुनुपर्छ भन्ने आवाज निजी क्षेत्रका केही व्यवसायीले उठाउने प्रयास गरेका छन् ।

केही व्यापारीले अवैध रुपमा नुनको कारोबार पनि गर्दै आएको सुनिन आएको छ । संविधानअनुसार अत्यावश्यक वस्तुको आपूर्तिको जिम्मेवारी राज्यको हुन्छ । साल्ट ट्रेडिङ सरकारी निकाय हो । त्यसैले सरकारले साल्ट ट्रेडिङमार्फत आफ्नो दायित्व पूरा गराइरहेको छ । अहिलेसम्म यो संस्थाले आपूर्ति गरेको नुनको गुणस्तरमा समस्या छैन । त्यस्तै मूल्य पनि एकरूपता हुनुका साथै सबै ठाउँमा उपलब्ध छ । यस्तोमा निजी क्षेत्रलाई पनि नुनको कारोबारमा लैजानु राम्रो हुने देखिँदैन ।

विगतमा आयोडिनको कमीका कारण अधिकांश नेपालीमा स्वास्थ्य समस्या देखिएको थियो । आयोडिनयुक्त नुन अभावमा गलगाड आउने गरेका थुप्रै उदाहरण छन् । तर संस्थाको अगुवाइमा यो समस्या निर्मुल पार्ने काम भएको छ । सन् १९६५ मा डब्लूएचओ, युनिसेफ र नेपाल सरकारले संयुक्त रूपमा गरेको एक अध्ययनमा ५५ प्रतिशत नेपाली नागरिकमा आयोडिनको कमीले गर्दा हुने स्वास्थ्य समस्या देखिएको थियो ।

सन् १९७३ मा उक्त समस्या समाधान गर्न नेपालले भारतसँगको समन्वयमा नुनमा आयोडिन मिसाएर बिक्री गर्न थाल्यो । त्यसपछि सन् २०१६ मा गरिएको अध्ययनले आयोडिनको कमीले गर्दा जनस्वास्थ्यमा देखिने समस्या निर्मुल भएर गएको देखाएको छ । यो तथ्यांकले संस्थाले आफ्नो जिम्मेवारी पूर्णरुपमा निभाएको प्रष्ट हुन्छ ।

कारोबार विविधिकरण
नुनको कारोबार गर्दै आएको यो संस्थाले पछिल्ला वर्षहरुमा नुनबाहेक अन्य अत्यावश्क वस्तुको पनि व्यापार गरिरहेको छ । ६ दशक भन्दा लामो आफ्नो यात्रामा विभिन्न चुनौती पार गर्दै साल्ट ट्रेडिङले गुणस्तरीयता, मूल्यमा एकरूपता र सहज उपलब्धताको मन्त्र बनाएर सेवा दिइरहेको छ । तत्कालीन समयमा नुन उपलब्ध गराउन स्थापना गरिएको कर्पोरेसन पछिल्ला दिनमा अन्य व्यापारिक गतिविधि र कारोबारमा पनि संलग्न छ ।

अहिले नुनबाहेक मैदा, वनस्पति घिउ, ग्यास, गहुँजस्ता खाद्य सामग्री बिक्री वितरण गर्दै आएको छ । यस्तै गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, मोरङ सुगर मिललगायत केही संस्थामा पनि यसको लगानी छ । यसले गहुँको बीउ उत्पादनदेखि सरकारी अनुदानको रासायनिक मल खरिद–बिक्री, सहुलियतमा चिनी, दाल, गेडागुडीलगायतको व्यापार गर्दै आएको छ ।

सामाजिक उत्तरदायित्व
साल्ट ट्रेडिङले सामाजिक उत्तरदायित्वका विभिन्न काम पनि गर्दै आएको छ । कम्पनीको रजत जयन्तीका अवसरमा २०४५ सालमा हितकारी गुठीअन्तर्गत बाल हितकारी पुरस्कार स्थापना गरी नेपाली बालबालिकाको शैक्षिक, मनोवैज्ञानिक, बौद्धिक, शारीरिक र भौतिक अभिवृद्धि एवं नैतिक तथा चारित्रिक विकासमा उत्कृष्ट योगदान दिने व्यक्ति वा संस्थालाई हरेक वर्ष कर्पोरेसनको जन्म दिवस अवसरमा प्रदान गरिन्छ । यस्तै विश्व हिन्दू महासंघमार्फत हिन्दु धर्म, संस्कृति एवं संस्कृत वाङ्मयमा उत्कृष्ट योगदान दिने व्यक्ति वा संस्थालाई २०५२ सालदेखि पाणिनी पुरस्कार प्रदान गर्दै आएको छ ।

संस्थाको सञ्जाल
साल्ट ट्रेडिङका अहिलेसम्म मुख्य रुपमा ९३ शाखा कार्यालय र ६ सय भन्दा बढी डिलर छन् । यीनै संस्थामार्फत नुनलगायत अन्य व्यापारीक वस्तु बिक्री वितरण गर्दै आएको छ । पछिल्लो १०–११ वर्षको अन्तरालमा संस्थाले अधिकतम ४५ प्रतिशतसम्म लाभांश वितरण गरेको छ ।

रोजगारी
यो संस्थामा प्रत्यक्ष जोडिएर रोजगारी पाउने संख्या चार सयभन्दा बढी रहेको छ । यो संस्थाको कारोबारसँग जोडिएर रोजगारी पाउनेको संख्या भने हजारौंमा छ । रोजगारीसँगै व्यवसाय वृद्धिमा पनि यसले धेरैलाई सहयोग पुर्‍याएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal