(Thursday , 03 October,2024)

मोबाइल भ्यान चलाउन नमान्ने वैद्यलाई मन्त्रालयमा तानियो

mountainejournal.com

mountainejournal.com

काठमाडौँ ।  कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मतिना जोशी वैद्यलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशकबाट हटाएर मन्त्रालयमा तानेका छन् । मन्त्रीस्तरीय निर्णयबाट उनलाई मन्त्रालयमा ल्याइएको हो ।

खाद्य स्वच्छताका लागि बजार अनुगमन गर्न खरिद गरेका मोबाइल भ्यान सञ्चालनमा ल्याउन अटेर गरेपछि मन्त्री अधिकारीले वैद्यलाई विभागको जिम्मेवारीबाट हटाएर मन्त्रालय तानेका हुन् । वैद्यको स्थानमा मन्त्रालयका सहसचिव सञ्जिवकुमार कर्णलाई पठाइएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए ।

मोबाइल भ्यान खरिद गर्ने काम कर्णले नै गरेका हुन् । मन्त्रालय स्रोतका अनुसार मन्त्री अधिकारीले मोबाइल भ्यान सञ्चालनमा रुची नदेखाएकै कारण वैद्यलाई मन्त्रालय तानेका हुन् । राज्यको करोडौं लगानीमा खरिद गरेका ल्याबसहितका मोबाइल भ्यान सञ्चालन नगरेको प्रश्न उठ्न थालेपछि मन्त्री अधिकारी वैद्यसँग असन्तुष्ट थिए ।

वैद्यले यसअघि मोबाइल भ्यान सञ्चालनमा ल्याउन मन्त्री र सचिवले दिएको निर्देशन पालना गरेकी थिइनन् । तत्कालिन कृषिमन्त्री ज्वालाकुमारी साह र बेदुराम भुसालले मौखिक रुपमा पटक–पटक भ्यान चलाउन निर्देशन दिएका थिए । मन्त्रालयले मोबाइल भ्यान सञ्चालन गर्न गत जेठ १८ मा लिखित निर्देशनसमेत दिएको थियो । दुई वर्षदेखि पटक पटक मौखिक र लिखित निर्देशन दिँदा पनि वैद्यले अटेर गर्दै आएकी थिइन् । वैद्यले भने भ्यान खरिदको विषय अदालतमा पुगेकाले सञ्चालनमा ल्याउन नसकिने बताउँदै आएकी थिइन् ।

खाद्य प्रविधि विभागको जिम्मेवारी पाएका कर्णले यही सोमबारबाट महानिर्देशकको पदबहाली गरी काम सुरु गरिसकेका छन् । लामो समयदेखि थन्किएर बसेका मोबाइल भ्यानको अवस्था हेरी सञ्चालन गर्नेदेखि बजारमा बिक्री हुने अखाद्य वस्तुको गुणस्तरमा सुधार गर्ने उनले बताए । ‘असल उत्पादन प्रक्रियालाई कार्यान्वयनमा ल्याई खाद्य गुणस्तर प्रणाली सुधार गर्ने मेरो उद्देश्य हो । ल्याबसहितका मोबाइल भ्यान बजारमा पठाउँदा पनि अखाद्य वस्तु उत्पादन गर्नेहरु डराउनेछन्,’ उनले भने । लामो समयदेखि खुला आकाशमा बेवारिसे हुँदा भ्यानभित्रका सामग्री बिग्रिसकेको हुन सक्ने भन्दै कर्णले मर्मत गरी सञ्चालनमा ल्याउने आफ्नो प्रयास रहने बताए ।

यसैगरी उनले नयाँ खाद्य ऐन आएको लामो समय हुँदा पनि कार्यान्वयन गर्न नियमावली नबनेको भन्दै चाँडै नै नियमावली तयार गर्ने प्रतिवद्धता जनाए । सेवाग्राहीको सहजताका लागि विभागलाई पूर्ण रुपमा अनलाइन प्रणालीमा लैजाने र आन्तरिक व्यवस्थापनमा पनि सुधार गर्ने महानिर्देशक कर्णको भनाइ छ । सरकारले बजार अनुगमन प्रभावकारी बनाउन २०७५ वैशाखमा चार मोबाइल भ्यान खरिद गरेको थियो । प्रतिभ्यान करिब ७ करोडका दरले २८ करोडमा खरिद गरिएका थिए ।

विभागले २ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले २ वटा भ्यान खरिद गरेका हुन् । भ्यान खरिद गरेको सुरुको एक वर्ष विभागले बजार अनुगमनका लागि प्रयोग गरेको थियो । त्यसपछि भ्यान खरिदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको थियो । त्यसयता मोबाइल भ्यान विभागको चौरमै अलपत्र परेका छन् । काराेबार 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal