(Monday , 21 April,2025)

यस वर्ष लगभग सकियो धान रोपाइँ

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । यो वर्ष समयमा वर्षा भएकाले धान रोपाइँको क्षेत्रफल बढेको छ । गत वर्षको तुलनामा यो वर्ष धान रोपाइँको क्षेत्रफल करिब १.५८ प्रतिशतले बढेको हो ।

कृषि विभागको तथ्यांकअनुसार भदौ २ सम्ममा १३ लाख ९८ हजार ९ सय ८५ हेक्टर जमिनमा धान रोपाइँ भएको छ । गत वर्ष यो बेला १३ लाख ७७ हजार २ सय १६ हेक्टर जमिनमा रोपाइँ भएको थियो । धान रोपाइँको क्षेत्रफल बढेसँगै यो वर्ष उत्पादन पनि बढ्ने अनुमान कृषि तथा पशुपन्छी विकास मन्त्रालयको छ ।

विभागका अनुसार गत वर्ष ५७ लाख २४ हजार २३४ टन धान उत्पादन भएको थियो । यो वर्ष धान रोपाइँ समयमा नै सकिएको र क्षेत्रफल पनि बढेको हुँदा उत्पादन बढ्ने देखिएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए ।

यस वर्ष मनसुन छिटो सुरु भएको हुँदा धान रोपाइँ पनि छिट्टै सकिएको उनले बताए । भदौ २ सम्म देशभर ९८.४ प्रतिशत रोपाइँ सकिसकेको छ । गत वर्ष यो समयमा ९२.४ प्रतिशतमात्र रोपाइँ भएको थियो । ‘अब धान रोपाइँ १–२ प्रतिशतले बढ्न सक्छ । यो वर्ष मनसुनले साथ दिएको हुँदा सबै प्रदेशमा समयमा धान रोपाइँ सकिएको छ,’ केसीले भने । मनसुनको सक्रियतासँगै रासायनिक मलको पनि अभाव नभएकाले किसानले समयमा धान रोपाइँ गर्न सकेका हुन् । 

उनका अनुसार पछिल्लो समय तराई क्षेत्रमा सिँचाइको विस्तार बढेको र नयाँ प्रविधिको प्रयोग पनि बढ्दै गएकाले धान रोपाइँ बढेको छ । धान उत्पादन यति नै बढ्न सक्छ भनेर अहिले यकिन गर्न सकिँदैन । तर, बीचमा कुनै समस्या भएन भने गतभन्दा यो वर्ष १–२ लाख टन धान उत्पादन बढ्ने सम्भावना देखिएको प्रवक्ता केसीले जानकारी दिए ।

भदौ २ सम्ममा सुदूरपश्चिम प्रदेशमा कुल जमिनको शतप्रतिशत रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा यो प्रदेशमा कुल क्षेत्रफलको ९९.२ प्रतिशत रोपाइँ भएको थियो । यो प्रदेशमा १ लाख ७४ हजार ५७६ हेक्टर जमिनमा रोपाइँ हुन्छ ।

यसैगरी कर्णाली प्रदेशमा कुल क्षेत्रफलको ९९.२ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्षको यही अवधिमा कर्णाली प्रदेशमा ९८.५ प्रतिशत रोपाइँ भएको थियो । यो प्रदेशमा ४१ हजार ९०४ हेक्टर जमिनमा रोपाइँ हुन्छ ।

यसैगरी लुम्बिनीमा ९८.३ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यो बेला ९५ प्रतिशत रोपाइँ भएको थियो । विभागको तथ्यांकअनुसार यस प्रदेशको रोपाइँ हुने क्षेत्रफल ३ लाख ११ हजार हेक्टर हो ।
यसैगरी गण्डकी प्रदेशमा ९७.८ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष ९४.२ प्रतिशत रोपाइँ भएको थियो । यो प्रदेशमा धान रोपाइँ हुने क्षेत्रफल ९६ हजार ५३ हेक्टर छ ।

विभागका अनुसार बागमती प्रदेशमा ९९.२ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यो प्रदेशमा ९३.३ प्रतिशत भएको थियो । गतभन्दा यो वर्ष ५.९ प्रतिशत बढी धान रोपाइँ भएको छ ।

धान भण्डारणको क्षेत्र मधेश प्रदेशमा ९७.३ प्रतिशत धान रोपाइँ सकिएको छ । मधेश प्रदेशको धान रोपाइँ हुने क्षत्रेफल २ लाख ७६ हजार ३ सय ८६ हेक्टर हो । यसैगरी कोशी प्रदेशमा कुल धान रोपाइँ हुने जमिनमध्ये ९९.१ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष ९६.६ प्रतिशत रोपाइँ भएको थियो । विभागका अनुसार यस वर्षको अन्तिम तथ्यांक आउन भने बाँकी छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal