(Saturday , 14 June,2025)

मधेश प्रदेशमा धान रोपाइँ बढ्यो

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । मधेश प्रदेशमा धान रोपाइँ बढेको छ । असार पहिलो साताबाट मनसुन सक्रिय भएको कारण धान रोपाइँ बढेको हो । कृषि विभागको तथ्यांकअनुसार साउन ६ सम्म ८०.६ प्रतिशत रोपाइँ भएको छ । यो गत वर्षको तुलनामा ३५.१ प्रतिशत बढी हो ।

गत वर्षको सोही अवधिमा कुल क्षेत्रफलको ४५.५ प्रतिशत मात्र रोपाइँ भएको थियो । यो प्रदेशमा ३ लाख ८३ हजार १५० हेक्टरमा धान रोपाइँ हुने गरेको छ । जसमध्ये साउन ६ सम्ममा ३ लाख ८ हजार ९०१ हेक्टरमा धान रोपाइँ सकिएको छ । खाद्यन्नको मुख्य धान बालीको उत्पादन बढ्नु र घट्नुले मुलुक अर्थतन्त्रमा निकै प्रभाव पर्छ । अन्नको भण्डारण मानिने मधेश प्रदेशमा धान रोपाइँ उल्लेखनीय वृद्धि हुँदा अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने संकेत देखिएको छ ।

समयमै मनसुन सक्रिय हुँदा गत वर्षभन्दा यो वर्ष मधेश प्रदेशको मात्र नभएर देश भरको धान रोपाइँ वृद्धि भएको कृषि विभागका महानिर्देशक नरहरि प्रसाद घिमिरे बताए । यो वर्ष समयमा मनसुनको सक्रियता र रासायनिक मलको अभाव नभएपछि धान रोपाइँ गत वर्षभन्दा बढेको उनको भनाइ छ । पछिल्लो समय तराई क्षेत्रमा सिँचाइ विस्तार बढेको र नयाँ प्रविधिको प्रयोग बढ्दै गएको कारण यस वर्ष मधेश प्रदेशमा धान रोपाइँ बढेको उनले बताए ।

महानिर्देशक घिमिरेले भने, ‘समयमा धान रोपाइँ भएको हुँदा यसले धान उत्पादनमा सकारात्मक प्रभाव पर्ने देखिएको छ । समयमा धान रोपाइँ हुँदा उत्पादन र उत्पादकत्व दुवै बढ्छ ।’ यो वर्ष धानको लागि पानी धेरै परेको र रासायनिक मल पनि अभाव नभएको हुँदा धान उत्पादन बढ्ने उनले जानकारी दिए । यस पटक सरकारले रासायनिक मल गहुँ सिजनलाई पनि पुग्ने गरी ल्याइ सकेको हुँदा वितरण प्रणालीको व्यवस्थापनमा समस्या आए पनि मल अभाव नभएको उनको भनाइ छ ।

विभागकाअनुसार साउन ६ सम्ममा देशभर कुल धान रोपाइँ हुने जमिनको ८४.५ प्रतिशतमा रोपाइँ सकिएको छ । गत वर्ष यही अवधिमा ६९.१ प्रतिशत धान रोपाइँ सकिएको थियो । गत वर्षसँग तुलना गर्दा यो वर्ष धान रोपाइँ १५.४ प्रतिशतले वृद्धि भएको हो । विभागको तथ्यांकअनुसार यस वर्ष देशभर १३ लाख ९८ हजार २७३ हेक्टर जमिनमा धान रोपाइँ हुने अनुमान गरेको छ । जसमध्ये साउन ६ सम्म ११ लाख ८१ हजार ४७० हेक्टर जमिनमा धान रोपाइँ सकिएको छ ।

विभागको तथ्यांक अनुसार सात प्रदेशमध्येमा सबैभन्दा धरै रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ । यस प्रदेशमा कुल जमिनको ९६.३ प्रतिशत रोपाइँ सकिएको छ । तर, यो प्रदेशमा गत वर्षभन्दा १.८ प्रतिशत रोपाइँ कम हो । गत वर्षको यही अवधिमा यो प्रदेशमा कुल क्षेत्रफलको ९८.१ प्रतिशत रोपाइँ भएको थियो । यस प्रदेशमा १ लाख ७४ हजार ५७६ हेक्टर जमिनमा रोपाइँ हुन्छ । यसैगरी कर्णाली प्रदेशमा साउन ६ सम्म कुल क्षेत्रफलको ९३. प्रतिशत धान रोपाइँ भएको छ ।

गत वर्षको सोही अवधिमा कर्णाली प्रदेशमा ८५ प्रतिशत रोपाइँ भएको थियो । गत वर्षको तुलनामा यो वर्ष ८ प्रतिशतले रोपाइँ वृद्धि भएको हो । यो प्रदेशमा ४१ हजार ९०४ हेक्टर जमिनमा रोपाइँ हुन्छ । लुम्बिनीमा ८३.३ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्षको सोही अवधिमा ७३.६ प्रतिशत रोपाइँ भएको थियो । यो गत वर्षको तुलनामा ९.७ प्रतिशत बढी हो । यो प्रदेशमा ३ लाख ११ हजार हेक्टरमा रोपाइँ हुने गरेको छ ।

गण्डकी प्रदेशमा ८३.३ प्रतिशत रोपाइँ भएको छ । गत वर्षको यही अवधिमा ७५.२ प्रतिशत रोपाइँ भएको थियो । यो प्रदेशमा गत वर्षभन्दा धान रोपाइँ ८.१ प्रतिशतले वृद्धि भएको छ । यसमा ९६ हजार ५३ हेक्टरमा रोपाइँ हुन्छ । साउन ६ सम्मको तथ्यांक अनुसार बागमती प्रदेशमा धान रोपाइँ हुने कुल जमिनको ८३.८ प्रतिशत रोपाइँ सकिएको छ ।

गत वर्षको यही समयमा ७२.५ प्रतिशत रोपाइँ भएको थियो । यो गत वर्षको भन्दा ११.३ प्रतिशत बढी हो । यो प्रदेशमा १ लाख १४ हजार ५६१ हेक्टरमा रोपाइँ हुन्छ । कोशी प्रदेशमा ८२.७ प्रतिशत रोपाइँ भएको छ । गत वर्षको यही समयमा ७२.६ प्रतिशत रोपाइँ भएको थियो । यस वर्ष गत वर्षभन्दा १०.१ प्रतिशत रोपाइँ बढेको छ । यो प्रदेशमा धान रोपाइँ हुने क्षेत्रफल २ लाख ७६ हजार ३८६ हेक्टर रहेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal