(Saturday , 25 May,2024)

नार्कले सिफारिस गरेका जात किसानले रुचाएनन्

mountainejournal.com

mountainejournal.com

काठमाडौँ ।  नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले स्थापनाको ३३ वर्षमा कृषि बालीको अनुसन्धान गरी ७ सय ८१ वटा उन्नत जात सिफारिस गरेको छ । तर, नार्कले वर्षौं अनुसन्धान गरी सिफारिस गरेका कृषिका जात किसानको रुचिमा भने कमै पर्ने गरेका छन् ।

नार्कले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सिफारिस गरिएका मध्ये धान, मसुरो र आलुका जात कम रुचाइएका छन् । ३३ वर्षमा नार्कले धानका १ सय ६३ वटा जात सिफारिस गरेकामा किसानले ३५ प्रतिशतमात्र अनुशरण गरेको तथ्यांक छ । किसानले ६५ प्रतिशत धानका जात नार्कले सिफारिस नगरेका प्रयोग गरेको देखिन्छ । यस्तै, गहुँ ४२ वटा जात सिफारिस गरेको छ भने मकै १ सय ६ वटा सिफारिस भएका छन् । नार्कले सिफारिस गरेका जातमध्ये किसानले मुसुरो ६० प्रतिशत अनुशरण गरेका छन् । आलुतर्फ सिफारिस गरेका मध्ये ४६ प्रतिशत जात किसानले अनुशरण गरेका छन् ।

नार्कले सिफारिस गरेका कृषि बालीका जातप्रति विश्वास नहुँदा किसानको रुचिमा कम पर्ने गरेको कृषिविद् कृष्ण पौडेल बताउँछन् । नार्कले किसानको सहभागिता नगरी काम गर्ने हुँदा उनीहरु विश्वस्त हुन नसकेको उनको भनाइ छ । ‘नार्कले विभिन्न बालीका जात विकास गरी प्रयोगका लागि सिफारिस गर्दा उत्पादन राम्रो दिन्छ भन्नेमा किसानलाई विश्वास दिलाउनुपर्छ,’ पौडेलले भने, ‘नार्कले विकास गरेको बाली र बिउप्रति किसानलाई विश्वास नै छैन ।’

किसानको आवश्यकताअनुसार कृषि बालीहरुको जात विकास नगर्दा नार्कले सिफारिस गरेका जातहरु किसानको रुचिमा नपरेको कृषि बालीविद् डिल्लीराम शर्मा बताउँछन् । नार्कले किसानको आवश्यकता र रुचिका जात विकास गर्नुपर्ने उनको भनाइ छ । ‘पछिल्लो समय किसानले हाइब्रिड जातहरु धेरै प्रयोग गर्ने हुँदा नार्कले सिफारिस गरेका उन्नत जातको प्रयोग कमै गर्ने गरेका छन् । नार्क स्थापना भएको तीन दशकभन्दा बढी हुँदा पनि किसानको मागअनुसार हाइब्रिड धानको जातहरु विकास गर्न सकेको छैन । यसले गर्दा किसानले आयातीत हाइब्रिड धानको बिउ प्रयोग गरिरहेका छन्,’ उनले भने ।

नार्कले हालसम्म धानका हाइब्रिड दुई जात (हर्दिनाथ हाइब्रिड १ र हर्दिनाथ हाइब्रिड ३) मात्र विकास गरेको छ । हर्दिनाथ १ को प्रयोगले प्रतिहेक्टर ७.८ टन उत्पादन हुन्छ भने हर्दिनाथ ३ प्रयोग गर्दा प्रतिहेक्टर ६.७ टन उत्पादन हुन्छ । तर, किसानले यो बिउको प्रयोग कमै प्रयोग गरेको पाइन्छ । बिउको प्रचारप्रसार नहुँदा कम प्रयोग भएको नार्कको भनाइ छ ।

नार्कका अनुसार हालसम्म सिफारिस भएका मकैका हाइब्रिड जातमा गौरव, रामपुर हाइब्रिड २, रामपुर हाइब्रिड ४, रामपुर हाइब्रिड ६, खुमल हाइब्रिड २, रामपुर हाइब्रिड ८ र रामपुर हाइब्रिड १० हुन् । फूल लाग्ने समयमा पर्याप्त पानी नपरे मकै शतप्रतिशत नोक्सान हुने विज्ञ बताउँछन् । छर्ने, गोड्ने र फूल खेल्ने समयमा मकै बालीलाई पर्याप्त मात्रामा माटोमा चिस्यान आवश्यक पर्ने कृषि वैज्ञानिक घनश्याम भण्डारीले बताए । ‘मकैमा धानजस्तो बाला वा जुँगा निस्किँदा पानी आवश्यक पर्छ । यो समयमा पानी भएन भने मकै बालीमा नोक्सान हुन्छ,’ उनले भने ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal