(Tuesday , 13 May,2025)

लगानी सम्मेलनमा यस्ता भए सम्झौता

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । नेपाल सरकारले आयोजना गरेको दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न सम्झौता तथा समझदारीहरु भएका छन् । आइतबार र सोमबार यी सम्झौता भएका हुन्।

९ अर्ब १३ करोड लगानी स्वीकृत
उद्योग विभागले लगानी सम्मेलनमा ९ अर्ब १३ करोडको लगानी स्वीकृत गरेको छ । विभागका अनुसार विभिन्न चारवटा परियोजनाका लागि यो लगानी स्वीकृत गरिएको हो ।

भक्तपुरमा लगानी कम्पनी स्थापना गर्न ६ अर्ब र काठमाडौंमा व्यावसायिक भवन बनाउन ३ अर्ब लगानी स्वीकृत भएको हो । संयुक्त अधिराज्यको एकेलस इनर्जीको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा दुई सय किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि ७ करोड ६६ लाख लगानी पनि स्वीकृत भएको विभागले जनाएको छ । यसैगरी ललितपुरमा होटल तथा रेस्टुरेन्ट निर्माणका लागि ६ करोड २५ लाख लगानी स्वीकृत भएको छ ।

तीन अर्ब लगानीमा ईभी गाडी उत्पादन हुने
चिनियाँ कम्पनी सिएन गोल्ड ड्रागन अटोबडीले नेपालमा विद्युतीय गाडी उत्पादनका लागि ३ अर्ब रूपैयाँ वैदेशिक लगानी गर्ने सम्झौता गरेको छ । कम्पनीले लगानी सम्मेलनको अवसर पारेर नेपालको कोशी एनके मोटर्ससँगको सहकार्यमा प्रतिवर्ष ५ हजार वटा गाडी उत्पादन गर्ने योजना सार्वजनिक गरेको हो । कम्पनीले सुरूमा व्यावसायिक प्रयोजनमा प्रयोग हुने चार पांग्रे सवारीसाधन उत्पादनमा जोड दिने जनाएको छ । कोशी एनके मोटर्सका अध्यक्ष टिकाराम पुरीका अनुसार यही वर्षबाट गाडी उत्पादन सुरू गर्ने योजना छ ।

यसको प्लान्टका लागि कम्पनीले विराटनगरको बूढीगंगामा १५ बिगाहा जग्गा लिइसकेको उनले जानकारी दिए । कम्पनीले १४, १८ र १२ सिट क्षमताको कमर्सियल गाडी उत्पादन गर्ने उनले बताए ।

रारामा होटल
तेस्रो लगानी सम्मेलनको अवसर पारेर राराताल क्षेत्रमा होटल निर्माण गर्ने गरी अष्ट्रेलियन लगानी भित्रिएको छ । रारामा लक्जरी रिसोर्ट बनाउनका लागि अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो । लगानी सम्मेलनमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्री अर्याल र सञ्जिव शर्मा तथा रारा होल्डिङस् प्रालिका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरे । सम्झौताअनुसार मुगुको छायानाथ रारा नगरपालिका मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा ७० करोड रूपैयाँ लगानी हुनेछ । एक्सपर्ट ग्रुपको अष्ट्रेलिया र नेपालमा शिक्षा र जलविद्युत क्षेत्रमा लगानी रहेको छ । यस सम्झौतासँगै यसले पर्यटन क्षेत्रमा पनि लगानी विस्तार गरेको हो ।

रेमिट हाइड्रो अवधारणा
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको अगुवाइमा रेमिटेन्सबाट आउने रकम जलविद्युत आयोजनामा लगानी गर्ने गरी रेमिट हाइड्रोको अवधारणा अघि सारिएको छ । रेमिटेन्सको रकम नेपालको जलविद्युत तथा अन्य नवीकरणीय ऊर्जाको विकासमा उपयोग गर्ने सम्भावनाको खोजी गर्ने उद्देश्यसहित हाइड्रोइलेक्ट्रिसिटी र गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरूबीच समझदारीपत्रमा हस्ताक्षार भएको हो ।

यसअनुसार दुई आयोजना निर्माणको चरणमा जानेछन् । यी आयोजनाको कुल सेयर पुँजीको २९ प्रतिशत वैदेशिक रोजगारीमा रहेकाहरूका लागि छुट्याइने छ । यो अवधारणाअनुरूप अघि बढाएका ताप्लेजुङको ७०.३ मेगावाट क्षमताको सिम्वुवा खोला जलविद्युत आयोजना र ७७.५ मेगावाट क्षमताको धुन्सा खोला जलविद्युत आयोजना हो । सम्झौताको मुख्य उद्देश्य नेपालको जलविद्युत तथा अन्य नवीकरणीय ऊर्जाको विकासको लागि आयोजनाको ऋण तथा सेयर लगानीमा रेमिटेन्स रकमको उपयोग गर्ने रहेको छ ।

पीपीपी प्रवर्द्धनका लागि समझदारी
लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रवद्र्धनका लागि वल्र्ड एसोसिएसन अफ पीपीपी युनिट्स एण्ड प्रोफेसनल्स (वाप) र नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेसनल्स अफ प्राक्टिसनर्स (नाप) बीच समझदारी भएको छ । समझदारीपत्रमा वापका तर्फबाट अध्यक्ष जियाद–अलेक्स्यान्डर हायक र नापका तर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरे ।

उक्त समझदारीमा दुवै संस्थाले साझा चासोका विषयमा सहकार्य गर्ने, सार्वजनिक–निजी साझेदारी (पीपीपी) सम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान गर्ने उल्लेख छ । नेपालमा भौतिक पूर्वाधार तथा पीपीपी पाइपलाइन सुदृढीकरण, पीपीपी परियोजना र कार्यक्रम तयारी र कार्यान्वयनमा अन्तर्राष्ट्रिय असल अभ्यास प्रवद्र्धनका लागि सहकार्य, संयुक्त रूपमा सभासम्मेलन, गोष्ठी आयोजना गर्न तथा संयुक्त प्रकाशनहरू तयार गर्न दुवै संस्था सहमत भएका हुन् ।

सहकार्यले नेपालमा पीपीपी सम्बन्धी ज्ञान, अनुभव तथा क्षमता अभिवृद्धिका साथै तथा पीपीपी परियोजनाहरूको सुदृढीकरणमा सहयोग पुग्ने नापका अध्यक्ष उपाध्यायले बताए । वापका अध्यक्ष जियाद–अलेक्जेण्डर हायकले पीपीपी परियोजना कार्यान्वयनमा नेपालको लामो अनुभव रहेको र खासगरी जलविद्युत एवं स्वच्छ ऊर्जाका क्षेत्रमा नेपालमा पीपीले रूपान्तरण ल्याएको उल्लेख गर्दै नेपालको आफ्नै अनुभव पनि अद्वितीय रहेको बताए ।

चिनियाँ लगानी भित्र्याउन समझदारी
चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुई वटा समझदारी भएको छ ।
तेस्रो लगानी सम्मेलनको दोस्रो दिन सोमबार नेपालको ‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड’ र चीनको ‘एमएबिसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’बीच तथा नेपाल उद्योग व्यापार महासंघ (एफएनआइसी) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबीच छुट्टाछुट्टै समझदारी भएको हो । नेक्सजेनले एमएबिसीको माउ कम्पनीलाई नेपालमा वैदेशिक लगानी गर्नका लागि सहजीकरण गर्नेछ भने एफएनआइसीले चाइना दोङ्गन जिङ लङलाई सहजीकरण गर्नेछ ।

चेम्बर र क्रोएसियाको निजी क्षेत्रबीच समझदारी
नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यावसायिक प्रतिनिधिमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने विषयमा समझदारी भएको छ । काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा दुवै संस्थाबीच व्यापार सहजीकरण एवं पर्यटन क्षेत्रमा लगानी गर्ने सम्बन्धमा समझदारी भएको चेम्बरले जनाएको छ । सम्मेलनमा चेम्बरले जलविद्युत, होटललगायत क्षेत्रका एक दर्जन योजना ‘सो–केस’मा राखेको थियो ।

एफएनआईसी र आईआईएबीच सम्झौता
नेपाल उद्योग व्यापार महासंघ (एफएनआइसी) र इन्डियन इन्डस्ट्रिज एशोशिएसन (आईआईए) बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

तेस्रो लगानी सम्मेलनका क्रममा उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा एफएनआइसीका तर्फबाट अध्यक्ष खिमलाल भण्डारी र आईआईएका तर्फबाट अध्यक्ष अनुजकुमार गर्गले हस्ताक्षर गरे । नेपाल र भारतबीचको लगानी, व्यापार तथा उद्योग क्षेत्रमा आपसी सहकार्य तथा हित प्रवद्र्धनका लागि सहकार्य गर्न यो सम्झौता भएको महासङ्घका महासचिव खिमनारायण पराजुलीले जानकारी दिए । नेपाल उद्योग व्यापार महासंघले सोमबार नै चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडसँग पनि नेपालमा लगानी सहजीकरणका लागि सहकार्य गर्नेसम्बन्धी सम्झौता गरेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal